एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ



चितवन । भन्सार छलेर ल्याएको एक करोड १० लाख रुपैयाँ बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी १२ एभी५५६६ नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौँ लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको हो । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


क्लिकमान्डु