समस्याग्रस्त ६ सहकारीका ४१५ बचतकर्ताले पाए पैसा फिर्ता



काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका ६ सहकारीका ४ सय १५ बचतकर्ताले पैसा फिर्ता पाएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ६ सहकारीका ४ सय १५ बचतकर्तालाई पैसा फिर्ता गरेको जनाएको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये ६ सहकारीले बचतकर्ताको पैसा फिर्ता गरेको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म स्ट्यान्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी, लुःनिभा बहुद्देश्यीय सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र प्यासिफिक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभले बचतकर्ताले पैसा फिर्ता गर्न थालेका हुन् ।

पौडेलका अनुसार अहिलेससम्म स्ट्यान्डर्ड मल्टिपर्पोज को-अपरेटिभका सदस्यबाट माग दाबी गर्ने १६ जनाले नै पैसा फिार्ता पाएका छन् । प्रभु बचत तथा ऋण सहकारी संस्थामा माग दाबी १ सय ३८ रहेकामा ११ जनाले पैसा पाएका छन् ।

लुःनिभामा २ सय १४ जनाको माग दाबी थियो, जसमा ७६ जनाले पैसा पाएका छन् । सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा २ सय ४० जनाको माग दाबी रहेकामा १ सय ३३ जनाले पैसा पाएका छन् । त्यस्तै स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमा १ सय ७५ जनाको माग दाबी रहेकोमा १९ जनाले पैसा पाएका छन् ।

प्यासिफिक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमा ३ सय ५८ जनाले माग दाबी गरेकामा १ सय ६० जनाले पैसा पाएको पौडेलेले जानकारी दिए । सरकारले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त अन्य सहकारीबाट पनि बचतकर्ताको पैसा फिर्ता गराउन समितिले पहल थालेको छ । पहिलो चरणमा थोरै रकम हुनेलाई प्राथमिकतामा राखेर पैसा फिर्ता गरिएको पौडेले बताए ।

‘हामीले ऐनले गरेको व्यवस्थाअनुसार नै सदस्यालाई पैसा दिलाउने हो,’ उनले भने, ‘सुरुमा जसको थोरै पैसा छ, त्यो फिर्ता गराउँछौं, धेरै हुनेको विस्तारै फिर्ता गरिनेछ ।’

सरकारले उल्लिखित ६ सहित कन्जुमर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था र ओरेन्टल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।


क्लिकमान्डु