काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गरिँदै



काठमाडौं । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो ।

एसियाली विकास बैंक (एडीबी) को लगानीमा यो सडकखण्ड स्तरोन्नति हुनेछ । सडकको स्तरोन्नति र पुलहरुको निर्माणका क्रममा आयोजनामा ५० अर्ब ७७ करोड ४६ लाख रुपैयाँ रकम खर्च हुने जनाइएको छ ।

काँकडभिट्टाको मेची पुलबाट सुरु भएर लौकहीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षको जक्सनसम्म स्तरोन्नति हुनेछ । सडकखण्डअन्तर्गत एउटा उपमहानगरपालिका, १२ नगरपालिका र ४ गाउँपालिका पर्छन् । हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडकखण्ड केही स्थानमा मात्रै चार लेनको छ ।

बिर्तामोड, दमक, इटहरीजस्ता सहरी क्षेत्रमा चार लेन भए पनि अन्य क्षेत्रमा दुई लेन छ । सोही  सडकखण्डलाई एसियन हाइवेको मापदण्डअनुसार स्तरोन्नति गर्न लागिएको आयोजना सम्बन्धित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)मा जनाइएको छ ।

प्रतिवेदनका अनुसार सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र ग्रामीण तथा जंगल क्षेत्रमा २४ मिटरको बनाउने गरी स्तरोन्नति हुनेछ । स्तरोन्नतिमा सडकलाई चार लेनको बनाउने, सहरी क्षेत्रमा साइकल लेन निर्माण, फुटपाथ निर्माण, ओभरहेड पुल र अन्डरपास, वन्यजन्तुको क्रसिङ, ढलको स्तरोन्नतिजस्ता योजना छन् ।

यो सडकखण्डमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्ला पर्छन् । यो सडकखण्डमा हाल ७१ वटा ठूला तथा साना पुल छन्, जसमध्ये २१ वटा पुल ५० मिटर लामा र ६ वटा पुल ३ सय मिटरभन्दा लामो छन् । यी पुललाई पनि मापदण्डअनुसार स्तरोन्नति गरिनेछ ।


क्लिकमान्डु