ट्रान्सफर्मर उत्पादन गर्ने निक कम्पनीको व्यापारमा उछाल, ४ अर्ब ऋण लिँदै



काठमाडौं । नेपाल एकारत इन्जिनियरिङ कम्पनी प्रालि (निक)को व्यापारमा उछाल आएको छ । कम्पनीले सन् २०२२ मा उच्च कारोबार गर्दा व्यापारमा उछाल आएको जनाएको छ ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ५५ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा ५० करोड १० लाख रुपैयाँको व्यापार गरेका थियो ।

हेटौडामा ट्रान्सफर्मर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन क्षमता छ । कम्पनीले १ केभीए, १०एमभीए र १३२के भोल्टेजसम्मको ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा करिब डेढ अर्बको व्यापार गर्दा १३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन २०२१ मा ७ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीअनुसार सन् २०२० देखि २०२२ सम्ममा कार्यक्षमता १९ प्रतिशतले बढेको उल्लेख छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ७३ प्रतिशत हिस्सा मुख्य १० ग्राहकको रहेको जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग जोइन्ट भेन्चरमा ट्रान्सफर्मर उत्पादन गर्दै आएको कम्पनीले सिलिकन स्टिल, ट्रान्सफर्मर आयल ट्रान्सफर्मर ट्यान्कजस्ता कच्चा पदार्थ भारतबाट आयात गरी वस्तु उत्पादन गर्दै आएको छ ।

साथै, कम्पनीले कप्पर वायर भने आन्तरिक बजारको नै प्रयोग गर्दै आएको उल्लेख छ । कुशकुमार जोशी अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड ६९ लाख रुपैयाँ अर्थात् डबल बी, अल्पकालीन कर्जाका लागि २२ करोड रुपैयाँ अर्थात् एफोर र अल्पकालीन/दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६४ करोड ३० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु