चुनावमा देउवा र जनार्दनले आफ्नो क्षेत्रका कार्यकर्तालाई कति बाँडे पैसा ?



काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सरकारले राज्यकोषको चरम दोहन गरेको छ ।

तत्कालीन पाँच दलीय गठबन्धनबाट शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले निर्वाचनको समयमा मन्त्रिपरिषदबाट निर्णय गरेर मंसिर महिनामा विभिन्न ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ बाँडेको छ ।

निर्वाचनको समयमा सरकारले राज्यकोषबाट रकम वितरण गरेका ५८ जनामध्ये ५० प्रतिशत सुदूरपश्चिम प्रदेशका रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री देउवाको गृह जिल्ला, देउवा पत्नी आरजु राणा निर्वाचन उठ्ने चर्चा चलेको जिल्लाबाट रकम पाउनेको संख्या धेरै रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लाका पनि मंसिर महिनामा धेरै सहायता पाएका छन् ।

एकै महिनामा बाँडेको उक्त रकम सबैभन्दा बढी देउवाको जिल्ला डडेलधुरामा २६ लाख पठाइएको छ । डडेलधुराका ९ जनाले २ देखि ५ लाख रुपैयाँका दरले पैसा पाएका छन् ।

यस्तै आरजु राणाले निर्वाचन लड्ने चर्चा रहेको कैलाली जिल्लामा १२ लाख रुपैयाँ बाँडिएको छ । कैलालीका ८ जनाले ५० हजारदेखि ३ लाखसम्म लिएका छन् ।

सरकारले राज्यकोषबाट कन्चनपुरका ६ जनालाई १३ लाख ५० हजार दिएको छ । यस्तै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निर्वाचन लडेको क्षेत्र रुकुम पश्चिममा ७ लाख वितरण गरिएको छ ।

उनको निर्वाचन क्षेत्रबाट १० जनाले ८ लाख लिए त्यसमध्ये ६ जनाले ५० हजार ३ जनाले १ लाख र १ जनाले २ लाख रुपैयाँ लिएका छन् ।

उक्त रकम सरकारले निर्वाचनको महिनामा मन्त्रिपरिषदबाट निर्णय गराएर दिएको हो । मंसिरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिएको छ ।


क्लिकमान्डु