सरकारले ७ महिनामा १३९ जनालाई बाँड्यो साढे ५ करोड, रामवरण र झलनाथले लिए ४५ लाख



काठमाडौं । लक्ष्य अनुसार राजस्व संकलन नभएर बजेटमा विनियोजित कार्यक्रम कार्यान्वयन गर्न पनि रकम अभाव भएको अवस्थामा सरकारले व्यक्तिलाई अन्धाधुन्ध आर्थिक सहायताको नाममा पैसा बाँडेको खुलेको छ ।

अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको सात महिनामा विभिन्न मितिमा मन्त्रिपरिषदबाट निर्णय गर्दै सरकारले १३९ जनालाई ५ करोड ४६ लाख ३४ हजार ९०५ रुपैयाँ वितरण गरेको छ ।

साउनमा १९ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारले भदौमा दशैं खर्चको नाममा ३१ जनालाई रकम दिएको थियो ।

यस्तै असोजमा १ र कात्तिकमा ७ जनाले आर्थिक सहायताको नाममा राज्यकोषबाट रकम बुझेका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको मंसिरमा सबैभन्दा धेरै ५८ जनाले आर्थिक सहायता लिएका थिए ।
राज्यकोषबाट धेरै सहायता पाउनेमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लाका नागरिक धेरै छन् ।

त्यस्तै पुस महिनामा २१ जनाले आर्थिक सहायता लिँदा माघमा २ जनाले सहायता लिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका क्रममा झपडमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप एडीको परिवारलाई माघमा सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

सबैभन्दा धेरै रकम लिनेमा भने पूर्वराष्ट्रपति रामवरण यादव रहेका छन् । यादवलाई औषधि उपचार खर्च भन्दै कात्तिक ३ गतेको मन्त्रिपरिषद् बैठकबाट २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन भएको महिना मंसिरमा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राज्यकोषबाट २० लाख रुपैयाँ आर्थिक सहायता लिएका छन् । तर उनलाई कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको हो भन्ने खुलाइएको छैन ।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई पनि सरकारले दुई चरणमा गरेर ठूलो रकम उपलब्ध गराएको छ ।रिजाललाई भदौमा दुई पटक गरि २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

‍पुस १० गतेअघिसम्म प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा थिए भने त्यसपछि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् । आर्थिक सहायता बाँड्नेमा दुबै सरकारले एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् ।

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार प्रचण्ड नेतृत्वको सरकारले आर्थिक सहायता बाँड्ने भनेर निर्णय गरे पनि निकासा हुन बाँकी रकम करिब ३ करोड रुपैयाँ छ ।


क्लिकमान्डु