पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्रै



Crashing chart

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालले ०.८ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको साउनदेखि असोजसम्ममा ०.८ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हासिल गरेको छ ।

चालू आर्थिक वर्षमा आर्थिक मन्दीसँगै पुँजीगत खर्च हुन नसक्दा आर्थिक वृद्धिदरमा ठूलो धक्का पुगेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासिकमा नेपालले ३ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गरेको थियो । साथै, गत आव नेपालले ९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गरेको थियो ।

त्यसैगरी आव २०७७/७८ मा १२.६ प्रतिशत प्राप्त गरेको थियो । साथै, आव २०७६/७७ मा भने नेपालले १६.५ प्रतिशत नकरात्मक आर्थिक वृद्धिदर प्राप्त गरेको थियो ।

चालू आर्थिक वर्षमा निर्माण कार्य र उत्खनन तथा खानी क्षेत्रमा कार्यमा मन्दी आउँदा समग्र अर्थतन्त्र वृद्धिदरमा नै प्रभाव परेको छ ।

तथ्याङ्कअनुसार उत्खनन र खानी क्षेत्रमा नकारात्मक २९.२ प्रतिशत र निर्माण क्षेत्रमा २४ प्रतिशतले नकरात्मक वृद्धिदर देखिएको छ । त्यससँगै, बजारको व्यापार व्यवसायमा पनि ३ प्रतिशतले नकारात्मक वृद्धिदर देखिएको छ । साथै, यातायात तथा स्टोरेज र शिक्षामा ०.३ प्रतिशतले नकारात्मक आर्थिक वृद्धिदर देखिएको छ ।

त्यसबाहेक अन्य क्षेत्रमा भने नकारात्मक वृद्धिदर देखिँदैन । तथ्याङ्कअनुसार चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी एकोमेन्डेसन र खाद्यान्न सेवा क्षेत्रमा ४५.८ प्रतिशतले आर्थिक वृद्धिदर भएको उल्लेख छ ।

पहिलो त्रैमासिकमा विजुली, ग्यास, स्टिम र एयर कन्डिसनिङ आपूर्ति क्षेत्रमा २७.२ प्रतिशतm बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा २२ प्रतिशत, प्रशासन तथा सेवा क्षेत्रमा ७ प्रतिशत, प्रोफेसनल, साइन्टिफिक र टेक्निकल क्रियाकलापमा ६.६ प्रतिशत र सार्वजनिक प्रशासनिक र डिफेन्स र सामाजिक सुरक्षा क्षेत्रमा ४.६ प्रतिशतले आर्थिक वृद्धिदर भएको तथ्याङ्कले देखाउँछ ।

साथै, कृषि, वन र मत्स्यपालन क्षेत्रमा १.६ प्रतिशत, उत्पादन क्षेत्रमा १.९ प्रतिशत, . खानेपानी, ढल तथा फोहोर व्यवस्थापनमा ०.२ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा १.४ प्रतिशत, रियल स्टेट क्षेत्रमा २.२ प्रतिशत, शिक्षा क्षेत्रमा ३.१ र मनोरञ्जन, कला र अन्य घरायसी क्षेत्रमा ४.७ प्रतिशत वृद्धिदर हासिल गरेको छ ।


क्लिकमान्डु