प्रचण्ड हातमा चक्कु लिएर बसेका थिए, मलाई फूल लिएको छु भने: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधान गर्ने गरि अघि बढ्ने प्रयास गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको बोलाइ र काम गराइ फरक भएको टिप्पणी गरे । ‘उहाँ बोल्नु हुन्छ बेग्लै, गर्नुहुन्छ अर्कै काम । हेर्नु देब्रेपट्टी हुन्छ, निशाना दाहिनेतर्फ’ ओलीले भने ।

आफूलाई छक्याइरहेको बताउँदै ओलीले प्रचण्डले धोका दिन अप्ट्यारो नमान्ने बताए । ‘उहाँले मलाई छक्काइरहनु भयो । उहाँ हातमा चक्कु लिएर बस्नु भएको थियो, मलाई भन्नु भयो फूल लिएको छु । तपाईंलाई भ्रम नपरोस्’ ओलीले भने,’चक्कुजस्तो देख्नु भयो होला यो फूल हो ।’

जवाफमा आफूले भनेको भन्दै ओलीले सुनाए ‘तपाईंले भनेपछि फूलै हो भनेर बसें । तर मेरो आँखाले धोका दिएको थिएन । धोका दिन उहाँ अप्ट्यारो मान्नु हुन्न । सहयोद्धा, जीवन दिने सहिदलाई धोका दिनु भयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र?’

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको तर धोका दिएको ओलीको भनाइ थियो । प्रचण्डले शनिबार ओलीसँग दुई महिनामा गाह्रो भएको बताएका थिए । जसको जवाफ ओलीले दिएका छन् ।

‘उहाँले भन्नुभयो दुई महिनामा कस्तो गाह्रो भएको थियो’ ओलीले थपे, ‘हरियो देख्नै नहुने दाम्लो छिनाएर जान खोज्ने मैलै जानै नदिने । गाह्रो त गाह्रो परेको थियो उहाँलाई । झ्याप्पै मुख लगाउन खोज्ने तान्दिएपछि ।’

प्रचण्ड आफूसँग टिक्न नसक्नेबारे जानकार रहेको ओलीको भनाइ थियो । ‘मलाई थाहा थियो उहाँ टिक्न सक्नु हुन्न’ ओलीले भने, ‘मसँग कालेकाले मिलेर खाउ भाले हुन सक्दैन । त्यसैले जहाँ मिल्छ त्यहाँ जान खोज्नु उहाँका लागि सहज थियो ।’

सत्ताका लागि प्रचण्डमा बिरालो प्रवृत्ति देखिएको ओलीको टिप्पणी छ । ‘बिरालो किन्नु पर्दैन । दुध र भात कचौंरामा दियो भने आफ्नो भइहाल्छ । कसले कचौंरामा कति दुधभात दिन्छ त्यस अनुसार खुत्रुक्क छिमेकीको घरतिर सर्ने,’ ओलीले भने,’ त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्ने सिलसिला जारी छ ।’

प्रचण्डले आफैंले सञ्चालन गरेको जनयुद्धका घाइते अपाङ्गहरुको वेवास्ता गरेको ओलीको आरोप थियो । सत्ता र परिवारका लागि मात्र उनले ध्यान दिएको भन्दै ओलीले भने, ‘परिवारका मान्छे धनी नै भएका होलान् । भान्जा भान्जी, भाइभतिजा, छोरी ज्वाइँ राम्रै ठाउँमा पुगेका होलान् ।’


क्लिकमान्डु