टच ल्याम्प पावर इन्जिनियरिङले एकै वर्ष गर्‍यो साढे ६३ करोडको व्यापार



काठमाडौं । गोदावरी विजनेश अर्गनाइजेशनको टच ल्याम्प पावर इन्जिनियरिङ प्रालिले एकै वर्ष साढे ६३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६३ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २९ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१२ मा स्थापना भएको कम्पनीले एलइडी बल्ब, घरायसी इलेक्ट्रिक सामग्री, वायर, केबल र इलेक्ट्रिक ट्रान्स्फर्मरको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा एलइडी बल्ब एसेम्बलिङ गर्दै आएको कम्पनीले वार्षिक ८ लाख बल्ब उत्पादन गर्दै आएको छ । कम्पनीको व्यापार वार्षिक बढ्दै गएको देखिन्छ । त्यस्तै, कम्पनीअनुसार सन् २०१९ देखि सन् २०२२ सम्ममा ७३.६२ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

कम्पनीले सन् २०१९ सम्ममा घर निर्माणका लागि आवश्यक इलेक्ट्रिक सामाग्री बिक्री गर्दै आएको थियो । तर, कम्पनीले सन् २०२० देखि एलइडी बल्ब एसेम्बल गरेर बिक्री गर्न थालेपछि व्यापार ह्वात्तै बढेको उल्लेख छ ।

कम्पनीले सन् २०१९ सम्ममा ४.७४ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा ६.७५ प्रतिशतले बढेको जनाएको छ । कम्पनी बानियाँ परिवारद्वारा सञ्चालित कम्पनी हो ।

सुशीलप्रसाद सेनुरिया बानिया प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६९ लाख ५२ करोड रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि ४७ करोड ४८ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले व्यापार बढाउनका लागि थप रकम लगानी गर्ने भएको छ । कम्पनीले लिएको ऋण लिएको रकमले एसम्बलिङ उद्योगको क्षमता बढाउने तयारी गरेको हो ।

कम्पनीले एलइडी बल्ब एसेम्बलिङसँगै कप्पर केबल, अल्मोनियक केबल र ट्रान्फर्मर नेपालमै एसेम्बल गर्ने उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त उद्योग स्थापनाका लागि १ अर्ब लगानी हुने अनुमान गरेको छ । जसमा कम्पनीले ६५ प्रतिशत ऋण र ३५ प्रतिशत कम्पनीको लगानी हुने उल्लेख छ ।

कम्पनीले निर्माण गरिरहेको एसेम्बल उद्योग आगामी अक्टोबर २०२३ देखि सञ्चालनमा ल्याउने तयराी गरेको छ ।


क्लिकमान्डु