उपत्यकामा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी कुदाउन नपाइने



काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन कुदाउन नपाइने भएको छ । उपत्यका ट्राफिक कार्यालयले सूचना जारी गर्दै कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्र्याकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी कुदाउन नपाइने जनाएको हो ।

प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थासमेतलाई मध्यनजर राखि सवारी दुर्घटना न्यूनिकरण तथा रोकथामका लागि गति तोकेको जनाएको छ।

प्रहरी कार्यालयले कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्र्याकमा ५० किलोमिटर र सर्भिस ट्र्याकमा प्रतिघण्टा २० किलोमिटर गतिमा मात्रै कुदाउन पाइने जनाएको छ ।

साथै, कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि ५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा सवारी चलाउन नपाइने ट्राफिक प्रहरी कार्यालले जनाएको छ । साथै, उपत्यकाको विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरुसमेत राखिएको जनाएको छ ।

त्यसैगरी, प्रहरी कार्यालयले ललितपुर ग्वार्को चोकमा फ्लाइओभर विथ एप्रोज रोड निर्माणको कार्य भइरहेकाले पिक आवरको समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारी साधनहरुलाई बालकुमारीदेखि ग्वार्को र सातदोबाटोदेखि ग्वार्को सडकको प्रयोग नगरी बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।

साथै, स्कुल बसहरु बिहान ९ बजेभि ग्वार्को आइसक्नुपर्ने र ग्वार्कोबाट अपरान्ह ४ बजेभित्र बाहिरिनुपर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


क्लिकमान्डु