प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौंमा घरजग्गा किन्न नपाउने कानुन बनाउनु पर्छ: सांसद सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

‘काठमाडौं उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ । ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ । काठमाडौंमा घर भत्काएर सडक चौडा गरिदैमा सडक जाम हटने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौं उपत्यकामा खाद्यन्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ,’ उनले भने,’ २०७२ सालको जस्तो ठूलो भूकम्प काठमाडौंमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौं जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौं उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’


क्लिकमान्डु