रुसको मस्कोमा नेपाल प्रोमोसन इभेन्ट



काठमाडौं । रुसको मस्कोमा नेपाल प्रोमोसन इभेन्ट- २०२३ आयोजना गरिएको छ । नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायतको प्रवर्धनका लागि मस्कोमा नेपाल प्रोमोसन इभेन्ट गरिएको हो ।

कार्यक्रममा रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक र पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेकाले त्यसको सदुपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना र वर्तमान अवस्थाबारे छलफल भएको थियो ।

रुसी पर्यटन व्यवसायीहरु लियोनिद म्यास्निकोभ र सर्गेई पेसकेविचले नेपाल प्रवर्धनसम्बन्धी श्रव्यदृष्य सामग्री प्रस्तुत गरेका थिए । त्यस्तै, रूसी बैंकर एवं व्यवसायी युरी गुसेवले नेपालमा लगानीका अवसरका विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा रूसी पर्यटन व्यवसायी, नेपालमा उडान भर्ने तथा उडान भर्न इच्छुक एयरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्राध्यापक, व्यवसायी, गैर आवासीय नेपाली संघ तथा रुस-नेपाल मैत्री संघका प्रतिनिधिलगायतको सहभागिता थियो ।


क्लिकमान्डु