सिलिन्डरबाट ग्यास ‘लिकेज’ भयो ? यसरी जोगिनुहोस् (भिडियो)



काठमाडौं । बुधबार राति बुद्धनगरस्थित आफ्नै घरमा खाना पकाउने ग्यास विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए ।

उपचारका क्रममा हरिकलाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ भने भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । भारतमा उपचाररत भण्डारीको शरिरको ३० प्रतिशत भाग चलेको किर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ ।

घरमा रहेको खाना पकाउने ग्यास सिलिण्डरका कारण हुने आगलागी वा विस्फोटको घट्ना पछिल्लो तीन महिनामा ३२ वटा भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो ३ महिनामा ग्यास लिकका कारण भएका ३२ वटा आगलागीका घटनामा २ जनाको मृत्यु भएको छ । त्यस्तै, घाइते हुनेको संखया १६ रहेको छ ।

त्यसो भए घरमा रहेको खाना पकाउने ग्यास सिलिण्डरमा आगलागी भएमा के गर्ने ? यस्तो आगलागी हुँदा आगो कसरी निभाउने ? भनेर जानकारी दिने उदेश्यले यो सामाग्री तयार पारिएको हो ।

घरमा रहेको खाना पकाउने ग्यास सिलिण्डरबाट फरक फरक किसिमले ग्यास लिक हुन्छन् । ग्यास चुल्होबाट, चुल्होमा जोडिएको पाइपबाट वा ग्यास सिलिण्डरमा जोडिएको रेगुलेटरबाट ग्यास लिक भएर आगलागी हुन सक्छ । यस्तो अवस्थामा आगो निभाउनका लागि उचित समाधानका उपायहरु अपनाउन सकिन्छ ।

अग्नि नियन्त्रक तथा प्रशिक्षक किशोरकुमार भट्टराईकाअनुसार सिलिण्डरमा जोडिएको पाइपबाट ग्यास लिक भएर पाइपको टुप्पोमा आगो सल्किएको भएमा नडराइकन पाइपको टुप्पोमा औंलाले थिचेमा आगो निभ्छ ।

उनी भन्छन्, ١पोल्छ कि भन्ने लाग्न सक्छ । त्यस्तो बेलामा पाइपलाई मोडेर पनि आगो निभाउन सकिन्छ । बजारमा पाउने नरम किसिमको पाइप भएमा त्यसलाई सजिल्यै मोड्न सकिन्छ । यसरी मोड्दा सजिल्यै आगो निभ्छ ।’

पाइपबाट ग्यास लिक भएको अवस्थामा औलाले छोपेर वा पाइपलाई मोडेर पनि आगो निभाउन सकिने भट्टराई बताउँछन् ।

त्यस्तै, रेगुलेटरबाटै ग्यास लिक भएर आगो सल्किन सक्छ । घरमा यसरी आगो सल्किएको अवस्थामा वरिपरि अरु जल्ने कुराहरु हुन सक्छन् । यस्तो अवस्थामा हामीले त्यसलाई छाडेर आत्तिएर भाग्न नहुने भट्टराई बताउँछन् ।

‘एलपिजी ग्यास भनेको चिसो हुन्छ’, उनी भन्छन्, ‘जबसम्म आगो बल्दैन, तबसम्म ग्यास चिसो हुन्छ । ग्यास निस्किने र आगो बल्ने ठाउँबीचमा करिब एक इञ्चको ग्याप हुन्छ । त्यो ग्याप आगो जति नै बेर लागेको भएतापनि तातिएको हुँदैन्, चिसो नै हुन्छ । आगो र रेगुलेटरको टुप्पोबीचमा रहेको ग्यापमा औलाले केही बेर थुनिदिएमा आगो निभ्छ ।’

त्यस बाहेक बाक्लो कपडाले छोपेर पनि आगो नियन्त्रण गर्न सकिने भट्टराई बताउँछन् ।

उनी भन्छन्, ‘बाक्लो कपडालाई ग्यासको सिलिण्डरको वरिपरि तीव्र रुपमा छोप्दा पनि आगो निभ्ने गर्छ ।’


क्लिकमान्डु