
एजेन्सी । ताइवानको रक्षा मन्त्रालयले आइतबार चीनबाट बढ्दो खतरा र चिनियाँ जलसैनिक गतिविधिमा भएको वृद्धिलाई उद्धृत गर्दै पच्चीस वर्षको अन्तरालपछि आफ्ना स्नातकहरूका लागि कम्युनिस्ट विरोधी देशभक्तिका कक्षाहरू पुनः सुरु गरेको बताएको छ ।
शीतयुद्धको समयमा चीनका ‘कम्युनिस्ट डाकुहरू’ का खतराविरुद्ध चेतावनी दिने अभियानहरू ताइवानमा व्यापक थिए । त्यहाँको सरकारले यस टापुलाई आफ्नै भूभाग मान्छ ।
तर, सैन्य स्नातकहरूका लागि औपचारिक कम्युनिस्ट विरोधी देशभक्ति शिक्षा सन् २००२ मा समाप्त भएको थियो र यसको नाम परिवर्तन गरेर देशभक्ति शिक्षा राखिएको थियो ।
ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट बढ्दो सैन्य र घुसपैठको खतराका कारण सैन्य एकेडेमीका स्नातकहरूका लागि यी कक्षाहरू पुनः सुरु गरिएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले राष्ट्रिय सुरक्षा खतराहरूलाई स्पष्ट रूपमा बुझ्न र हामी किन लड्छौं र कसका लागि लड्छौं भन्ने सैन्य उद्देश्यलाई चिन्न आवश्यक छ ।’
चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्ने कुरालाई कहिल्यै त्यागेको छैन ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार, चीन–नीति बनाउने मेनल्यान्ड अफेयर्स काउन्सिल, राष्ट्रिय सुरक्षा परिषद्, न्याय मन्त्रालय र सरकारको शीर्ष थिंक ट्यांक एकेडेमिया सिनिकाका अधिकारीहरूले स्नातकहरूलाई प्रवचन दिनेछन् ।
‘यसको उद्देश्य स्नातकहरूमाझ मित्र र शत्रुको बारेमा स्पष्ट चेतना स्थापित गर्नु हो,’ यसले थप्यो ।
चीनको सेनाले ताइवान वरिपरि लगभग दैनिक रूपमा गतिविधि सञ्चालन गर्छ ।
ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव जोसेफ वुले शनिबार अबेर एक्समा पोस्ट गर्दै शुक्रबारसम्म ताइवानले पहिलो टापु शृंखलामा ११० भन्दा बढी चिनियाँ सैन्य र कोस्ट गार्ड जहाजहरूको रेकर्ड ट्य्राक गरिरहेको जानकारी दिए ।
जापानदेखि ताइवान, फिलिपिन्स र बोर्नियोसम्म फैलिएको क्षेत्रलाई संकेत गर्दै वुले भने, ‘पहिलो टापु शृंखलामा चीनको व्यापक सामुद्रिक परिचालन उसको विस्तारवादको स्पष्ट संकेत हो ।’
शनिबार चीनको कोस्ट गार्डले ताइवानको पूर्वी तटमा नयाँ गस्ती सुरु गरेको छ । ताइपेईले यसको कडा प्रतिक्रिया दिएको छ । ताइपेईका अनुसार, ती जलक्षेत्रमा बेइजिङको कुनै क्षेत्राधिकार छैन ।






प्रतिक्रिया