जाँचबुझ आयोगको निष्कर्ष: अध्ययनबिना रनवे १२ बाट अवतरण अनुमति, विमान ‘ढुंगा जसरी’ खस्यो



काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान स्टल (ढुंगा जसरी झ्याप्पै खसेको) भएको जाँचबुझ आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त अध्ययन नगरी सञ्चालनमा ल्याउँदा दुर्घटना भएको हुनसक्ने आयोगको प्रारम्भिक निष्कर्ष छ ।आयोगले वृहत अध्ययन गरेपछि मात्रै रनवे १२ बाट अवतरण गर्न सुझाव दिएको छ ।

गत माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सरकारले जाँच बुझ आयोग गठन गरेको थियो ।

उक्त आयोगले जमिनको सतहबाट ५ सय फिट उचाइमा रहेको विमान स्थीर हुन नसक्दा स्टल (ढुंगा जसरी झ्याप्पै खसेको)भएको निष्कर्ष निकालेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुवैतर्फबाट उडान र अवतरण गर्न मिल्ने भन्दै गत जनवरी १(पुस १७)मा उद्घाटन गरिएको थियो ।

माघ १ गते यती एयरलाइन्सको विमान पूर्वतर्फको रनवे ३० बाट अवतरण गर्न एयर ट्राफिक कन्ट्रोलरले अनुमति दिँदा पाइलटले पश्चिमतर्फको रनवे १२बाट अवतरणका लागि अनुमति मागेका थिए ।

पूर्वतर्फबाट विमान पश्चिमतर्फ जाने क्रममा जमिनको तहबाट पर्याप्त उचाइमा नरहँदा स्थीर हुन नसकेको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाँचबुझ आयोगले रनवे १२बाट विमान अवतरण गर्दा जमिनको तहबाट कति उचाइमा उड्नु पर्ने भन्ने विषयमा वृहत अध्ययन गर्न सुझाव दिएको छ ।

आयोगका एक अधिकारीका अनुसार रनवे १२ बाट भीएफआर उडान (आँखाले हेरेर गर्ने उडान) गर्दा जमिनको तहबाट कतिमाथि उड्नुपर्छ भन्ने नियम विमानस्थल सञ्चालनमा ल्याउनु भन्दा अघि नै एकिन गरिएको भए यती एयरलाइन्सको दुर्घटना टर्न सक्थ्यो ।

‘यो प्रारम्भिक प्रतिवेदन हो । हामीले मानवीय त्रुटिका विषयमा पनि अध्ययन गरिरहेका छौं,’ति अधिकारीले भने,’तयारी नगरी विमानस्थल सञ्चालन गरिएको प्रारम्भिक अध्ययनमा प्रस्ट देखिएको छ । दुर्घटनाका बाँकी कारण अन्तिम प्रतिवेदनमा आउने नै छ ।’


क्लिकमान्डु