यातायात मजदुरहरुले गरेको यातायात बन्द फिर्ता



काठमाडौं । यातायात मजदुरहरूले आन्दोलन स्थगित गर्ने भएका छन् ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र आन्दोलनरत यातायात मजदुरबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् ।

वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए ।

आफूहरुले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक-पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको भनाइ थियो ।
सरकारले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।

यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन चलेका थिएनन् । जसका कारण यात्रुहरुले सास्ती ब्यहोरेका थिए ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको बिरोध गरेका थिए ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका थिए । सोमबार नयाँ बसपार्कमा यातायात मजदुरहरुले प्रहरीको भ्यानमा आगजनी गरेका थिए ।


क्लिकमान्डु