रुस युक्रेन द्वन्द्वको असर नेपाली अर्थतन्त्रमा: अर्थमन्त्री



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुस युक्रेनको द्वन्द्वको असर नेपालमा पनि परेको बताएका छन् ।

सोमबार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड महामारीले थला परेको अर्थतन्त्रमा पछिल्लो समय रुस युक्रेन द्वन्द्वले नेपाली अर्थतन्त्रलाई पनि यसले प्रत्यक्ष असर गरेको छ ।

यस्तोमा युद्धलाई शान्तिले प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘युद्धमाथि शान्तिको जीत अहिलेको समयमा महत्त्वपूर्ण हो भन्ने लाग्छ’ उनले भने । नेपाल जटिल भूराजनीतिक अवस्थामा रहेको भन्दै उनले शान्तिको झण्डालाई अझ ठूलो गरि फहराउनु पर्ने बताए ।

उनले आज सञ्चारका माध्यममा विविधता रहेको भन्दै प्रिन्ट, इलेक्ट्रोनिक, अनलाइनमाध्य आए पनि रेडियोको उपयोगिता नसकिएको उनले बताए । संसारमा नयाँ नयाँ आविष्कार भए पनि रेडियोको औचित्य समाप्त नहुने बताए ।

उनले सामुदायिक रेडियोले बिगतमा अहम भूमिका निभाएको बताए । राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा रेडियोको भूमिकालाई भुल्न नमिल्ने उनको भनाइ छ । नवीकरण, सञ्चालन, करको विषयमा पनि अर्थमन्त्रालयसँग छ्लफल गर्न सकिने उनले बताए ।


क्लिकमान्डु