राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिमा अर्थमन्त्रीको समर्थन



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिको पक्षमा देखिएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्री पौडेलेले राष्ट्र बैंकले लिएको नीतिले क्रमश: अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै जाने बताए ।

‘माननीय ज्यूले तरलता, बैंक ब्याजदर लगायका विषय उठाउनु भयो । राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत यी समस्या समाधान गर्ने प्रयास गरिरहेको छ,’मन्त्री पौडेलले भने,‘निजी क्षेत्र, आम नागरिक र उपभोक्ताको अपेक्षाअनुसार राष्ट्र बैंकले समस्या सम्बोधन गर्न नसकेको होला तर यस क्षेत्रमा रहेका समस्या समाधान गर्न राष्ट्र बैंक निकै गम्भीर छ ।’

राष्ट्र बैंकले बजारको अवस्थालाई हेरेर सन्तुलित मौद्रिक नीति लिएको मन्त्री पौडेलको भनाइ छ । ‘अहिले देखिएका यी समस्याको दिगो समाधान यसरी नै हुन सक्छ,’ पौडेलले भने ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ ।

निजी क्षेत्रले ब्याजदर सस्तो बनाउने गरि मौद्रिक नीतिको समीक्षा आउनु पर्ने माग गरेपछि केन्द्रीय बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा नरहेकाले तत्कालै लचिलो मौद्रिक नीति लिन नसक्ने जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा तय भएको ७ प्रतिशत बैंक दर, ८.५ प्रतिशत स्थाई तरलता सुविधा दर लगायतका कसिलो प्रावधानलाई यथावत राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो ।


क्लिकमान्डु