८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधि सभामा पेस गर्दै आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने बताएका हुन् ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने देखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा हुने देखिएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको बताए । राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनको भनाइ छ ।

सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्दै उनले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने बताए । विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौति थपिएको उनको भनाइ छ । धान उत्पादन गत वर्षभन्दा सामान्य मात्र वृद्धि हुने उनले बताए ।

अर्थमन्त्री पौडेलले बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको बताए ।


क्लिकमान्डु