‘भारतसँग कुटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताएका हुन् ।

बैठमा सांसदहरुले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै अधिकारीले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको बताए ।

‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ । तत्काल हामीले बेनिफिट खोजेर हुँदैन । त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन । त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ’ उनले भने, ‘ सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ । पोलिसी निर्माण गरेर भैरहवा केन्द्रित गतिविधि निर्माण गराउनुपर्छ । रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन । भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो । यसलाई त कुटनीतिक पहल गर्नुपर्छ ।’

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको उनको भनाइ थियो । महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तिब्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताए ।

उनले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थलकेन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया शुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिट माथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङ गर्नुपर्ने नियम ल्याएको बताए ।

नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको उल्लेख गर्दै उनले जोमसोममा भएको दुर्घटनापछि प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको जानकारी दिए ।

अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै उनले लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने बताए ।

महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने बताए ।


क्लिकमान्डु