उद्योगी व्यवसायीहरुको ४७ संघ संस्थाले संयुक्त सडक आन्दोलन गर्ने



काठमाडौं । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुबिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा गरि ४७ संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए ।

व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका हुन् । सयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादतीबिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए ।

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको उनले बताए ।

संयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको दाबी गरे ।

उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको उनको आरोप छ ।

‘उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएका छौं । यसअधि नेपाल राष्ट्रिय व्यवसायी महासंघ एक्लैले सडक आन्दोलन गरेका थियौं । तर अहिले ९ वटा व्यवसायिक महासंघहरु र ३८ वटा व्यवसायिक संघ संगठनहरुको संयुक्त रुपमा वृहत सडक आन्दोलन गर्ने घोषणा गरेका छौं । उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु रहेका छन् । जिम्मेवार कोही पनि भएन’ उनले भने ।

उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको उनको भनाइ छ ।

फागुन ५ गते वृहत र्‍यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उत्रने उनले बताए ।

बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक एक भएर बाहिर आउन लागेको उनको भनाइ छ ।

‘बैंकहरुले देखाएरको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक एक भएर बाहिर आउनु थालेका छौं । सडक आन्दोलन शान्तिपूर्ण ढङ्गले सबै क्षेत्रका व्यवसायीहरुले सरकारसँग सडकबाट माग राख्नेछन्’उनले भने ।

फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने उनको भनाइ छ । फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने र त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिए ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ,ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ । भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।


क्लिकमान्डु