सत्ता सहकार्यलाई मजबुत बनाएर जाने गठबन्धनको निर्णय
काठमाडौं । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे ।
सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको उनले बताए ।
आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए।
‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरुको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरु भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ । यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरुमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन’ उनले भने, ‘ रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’