सञ्चालक फरार भएपछि २ सहकारीको फाइल सीआईबीमा पठाइँदै



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त २ वटा सहकारीको फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाउने भएको छ ।

समस्याग्रस्त १२ वटा सहकारीमध्ये २ वटा सहकारीका सञ्चालक सम्पर्कमा नआएको र सहकारीको अधिकांश कागजात फेला नपरेको भन्दै समितिले थप अनुसन्धानका लागि कार्यालयले सीआईबीको सहयोग लिन लागेको हो ।

समस्याग्रस्त कञ्जुमर बचत तथा ऋण सहकारी संस्था र भेगास बचत तथा ऋण सहकारी संस्थाको फाइल सीआईबीमा पठाउने तयारी भइरहेको सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए ।

दुवै सहकारीका सञ्चालक, सहकारीको चल/अचल सम्पत्ति, सहकारीको पुँजी, कर्जा लगानी लगायत संस्थाका कुनै पनि कागजात नभेटिएपछि उक्त संस्थाको फाइल थप अनुसन्धानका लागि सीआईबीमा पठाउन आन्तरिक छलफल भएको पौडेलले बताए ।

सरकारले यी दुवै सहकारीलाई २०७५ असार १८ गते समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको हो । ‘हामीले लामो समयदेखि यी संस्थाको फाइल खोज्यौं, सञ्चालकहरु पनि खोज्यौं’ उनले भने ‘फाइल पाउन सकिएन, सञ्चालहरु पनि कोही भूमिगत, कोही विदेशमा रहेको पाइएको छ । विदेशमा हुनेहरुको इन्टरपोल मार्फत सूचना जारी गरेर खोजी कार्य शुरु गर्ने छौं।’

केहीलाई कालो सूचीमा राख्नेगरी काम भइरहेको पौडेलेको भनाइ छ ।

कागजात नभएपछि समितिको कार्यालयले संस्थासँग भएको सम्पत्ति लिलामी गरेर भएपनि बचतकर्ताकौ पैसा फिर्ता गराउन पहल गर्न समस्या भएको छ ।

कार्यालयका अनुसार कन्जमुर बचत तथा ऋण सहकारी सस्ंथाका ५९ पीडितले माग दाबी गरेका छन् । संस्थाको दायित्व ८ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

समितिको कार्यालयले अझै पनि संस्था तथा सञ्चालकको चल अचल सम्पत्ति खोज तलास जारी रहेको जनाएको छ । यस्तै भेगासको दायित्व ३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु