जीवन बीमा व्यवसाय साढे ७१ अर्बमाथि, १० कम्पनीको व्यवसाय घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिना अर्थात दोस्रो त्रैमाससम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यवसाय गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।
कम्पनीहरुले यस अवधिमा प्रथम बीमाशुल्कबाट १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् । भने नवीकरणीय बीमाशुल्कबाट ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संकलन गरेका छन् ।

प्राधिकरणकाअनुसार यस अवधिसम्ममा कुल सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख ९ हजार १५० वटा रहेका छन् ।

गत आवको सोही अवधिको तुलनामा १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटा कम्पनीको व्यवसाय बढेको छ । भने १० वटाको घटेको छ ।

आइएमई लाइफ, नेशनल लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेन्स(एलआइसी), राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ, नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफको व्यवसाय बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँको व्यवसाय गरेको छ । जुन कुल जीवन बीमा व्यवसायको २६.०१ प्रतिशत हो ।

गत आर्थिक वर्षको पुससम्ममा नेपाल लाइफले १८ अर्ब ३९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा आइएमई लाइफको बीमाशुल्क संकलन १९.३६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफको बीमाशुल्क पनि १३ प्रतिशतले बढेर ७ अर्ब ६८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

महालक्ष्मी लाइफको व्यवसाय ७.८८ प्रतिशतले बढेर ७५ करोड रुपैयाँ, सानिमा लाइफको ५.८५ प्रतिशतले बढेर एक अर्ब २४ करोड, रिलायन्स लाइफको ४.८९ प्रतिशतले बढेर एक अर्ब ५० करोड रुपैयाँ, एलआईसी नेपालको ४.०२ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन लाइफको २.५९ प्रतिशतले बढेर २ अर्ब ६६ करोड रुपैयाँ र नेपाल लाइफको १.३२ प्रतिशतले बढेर १८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यस्तै, राष्ट्रिय बीमा संस्थानको व्यवसाय ०.७६ प्रतिशतले बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

१० कम्पनीको व्यवसाय घट्यो

बीमा प्राधिकरणको तथ्यांकअनुसार रिलायवल नेपाल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, सूर्या लाइफ र एशियन लाइफको व्यवसाय घटेको छ ।

यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क सबै भन्दा धेरै १२.९८ प्रतिशतले घटेर १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ५ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

यस्तै, युनियन लाइफको व्यवसाय ९.०४ प्रतिशतले घटेर ३ अर्ब ७५ करोड रुपैयाँ, प्राइम लाइफको ८.५३ प्रतिशतले घटेर २ अर्ब २६ करोड रुपैयाँ, मेट लाइफको ६.२२ प्रतिशतले घटेर २ अर्ब ५० करोड रुपैयाँ, सन नेपाल लाइफको ५.३३ प्रतिशतले १ अर्ब ९४ करोड रुपैयाँ, प्रभु लाइफको ०.७८ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँले घटेको छ । ज्योति लाइफको व्यवसाय १३.६० प्रतिशतले घटेर १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ र सूर्या लाइफको व्यवसाय १५.७८ प्रतिशतले घटेर २ अर्ब ८ अर्ब ४७ लाख रुपैयाँमा सीमित भएको छ ।

एशियन लाइफको व्यवसाय ०.०५ प्रतिशतले घटेर ३ अर्ब ४६ लाखमा सीमित भएको छ ।

पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफले ५९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । साविकको सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सहरु मर्जर हुनुभन्दा अघि अर्थात पुस ६ गतेसम्मको छुट्टाछुट्टै र मर्जरपछि अर्थात पुस ७ गतेपश्चात पुस महिनामा गरेको व्यवसाय समावेश गरिएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु