१० सहसचिवको जिम्मेवारी हेरफेर: अर्थमन्त्रीले बनाए नयाँ टिम, बजेटको जिम्मेवारी शर्मालाई, अन्तर्राष्ट्रियमा नेपाल



काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार मन्त्रालयमा ६ जना सहसचिव सरुवा भएर आएपछि सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

अर्थमन्त्री विष्णुुप्रसाद पौडेले आफू अनुकुलको टिम बनाउन विगतमा अर्थ मन्त्रालयमा आफैंसँग काम गरेका सहसचिव ल्याएका थिए ।

पौडेलले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिएका छन् । नेपाल यसअघी पनि करिब ३ वर्ष महाशाखा प्रमुख भएका थिए ।

त्यसैगरी बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी धनीराम शर्माले पाएका छन् । शर्मा यसअघि करिब १ वर्ष महाशाखा प्रमुख थिए ।

वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई दिइएको छ । विगतमा आन्तरिक राजस्व विभागको महानिर्देशक भएका आचार्यसँग अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ । अर्थमन्त्री पौडेलले नै आचार्यलाई विभागको महानिर्देशक बनाएका थिए ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख रहेका शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा लगिएको छ ।

भन्सार जाँचपास परीक्षण कार्यालयमा रहेका लक्ष्मीप्रसाद निरौलालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । हाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख रहेका इश्वरीप्रसाद अर्याललाई वित्तीय संघीयता समन्वय महाशाखामा लगिएको छ ।

त्यसैगरी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखामा लगिएको छ ।

वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख रहेका सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयमा वित्तीय क्षेत्र महाशाखा अन्तर्गत केही सिमित जिम्मेवारीमा रहेका कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा लगिएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख रहेका शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा लगिएको छ । बुधबार मन्त्रालयमा सरुवा भएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।

बुधबार नै सरुवा भएर आएका रमेश अर्याल र राम प्रसाद आचार्यलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

अर्थ मन्त्रालयका ९ महाशाखा मध्ये बिहीबार ७ महाशाखाको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्री पौडेलले कानून महाशाखा र योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख बाहेक मन्त्रालयका सबै महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री पौडेलले यसअघि नै अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएका थिए । मन्त्री पौडेलले केही दिन भित्र मध्यम स्तरिय करदाता कार्यालय र भन्सार विभागका महानिर्देशक समेत हेरफेर गर्ने स्रोतको दाबी छ ।

मध्यम स्तरिय कार्यालयको जिम्मेवारी रमेश अर्याल र भन्सार विभागको जिम्मेवारी रामप्रसाद आचार्यलाई दिइने अर्थ मन्त्रालयमा चर्चा छ ।


क्लिकमान्डु