कलेजको फि तिर्न नसकेर पढाइ छाडेका अडानी मोदीको आडमा यसरी बनेका थिए विश्वकै तेस्रो धनी



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका अर्बपति गौतम अडानीबीचमा एउटा समानता छ- उनीहरु दुबैजना भुईंमान्छेको रुपमा संघर्ष गरेर उचाईमा पुगेको दाबी गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूले रेलवे प्लेटफर्ममा चिया बेचेर आएको बताउने गरेका छन् भने गौतम अडानी अहमदाबादको सडकमा साइकलमा आफ्नो व्यापार शुरु गरेको सम्झिन्छन् ।

उनै दुई भुईंमान्छेले पछिल्लो डेढ दशकमा संसार हल्लाए । मोदी विश्वका थोरै शक्तिशाली राजनीतिक व्यक्ति बन्न सफल भए भने अडानी विश्वका थोरै धनाड्यमध्येका एक । जसरी मोदीले लामो इतिहास बोकेको कांग्रेस र गान्धीहरुलाई राजनीतिमा पछार्दै विश्वशक्तिमा दबदबा कायम राखे, उसैगरी भारतको पूरानो व्यापारिक घराना अम्बानीलाई पछि पार्दै अडानी विश्वकै तेस्रो धनाड्यमा पर्न सफल भए ।

एकले अर्कालाई सहयोग गरेकै कारण उनीहरु दुबै सफल भए । भनिन्छ- मोदीको आडमा अडानी उदाए । तर, यो मात्रै सत्य होइन, मोदीलाई यहाँसम्म आइपुग्न अडानीको पनि ठूलो योगदान छ ।

मोदीसँग राज्यको शक्ति र अडानीसँग पुँजी थियो । उनीहरु दुबै मिलेर चरम उचाई हासिल गरे । मोदी अडानीको सम्बन्ध र प्रगति आसेपासे पुँजीबाद अर्थात् क्रोनि क्यापिटालिज्मको चरम नमुना हो ।

यो प्रवृत्ति नेपालमा पनि भौलाउँदै गएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा यति, ओम्नी, विशाल ग्रुप होस् वा देउवाका पालामा उमेश श्रेष्ठहरु । र, प्रचण्डका घरबेटीहरुको प्रगति । यो सबै आसेपासे पुँजीबादकै चरम रुप हो ।

तर, आज यो आलेखमा मोदी–अडानीको आसेपासे पुँजीबादका बारेमा विशेष चर्चा गर्नेछौं ।

अडानी र मोदी दुबै जना गुजरातको पश्चिमी भेगका हुन् । मोदी गुजरातको मुख्यमन्त्री भएपछि गुजरातको आर्थिक वृद्धि उल्लेख्यमात्रामा भयो । त्यहीँदेखि मोदी र अडानीको दोस्ती जमेको हो । सन् २००३ मा अडानीले मोदीलाई सहायताको प्रस्ताव गरेका थिए । त्यो बेला गुजरातको मुख्यमन्त्री रहेका मोदीले राज्यमा भइरहेको दंगाहरुको व्यवस्थापन गर्न सकिरहेका थिएनन् । हजारौं मानिसको मृत्यू भइरहेको थियो, जसमध्ये धेरै मुस्लिम थिए । त्यो बेला मोदीको चर्को विरोध हुनेगथ्र्यो ।

त्यही बेला गुजरातमा अडानीको औद्योगिक साम्राज्य गतिशिल बन्न थालेको थियो । अडानी भारतमा उदाउँदो व्यवसायीकारुपमा देखिएका थिए । र मोदीलई व्यवसायीहरुको हितमा काम गर्ने मुख्यमन्त्रीको परिचय दिलाउन पनि अडानीले सहायता गरेका थिए ।

पछि सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएपश्चात् देशभरर नै विकासको ‘गुजराती मोडल’ बारे चर्चा हुन्थ्यो । जब मोदी भारतको प्रधानमन्त्री भए, तब अडानीसँगको उनको सम्बन्ध पनि खुलस्तरुपमा देखिन थाल्यो । र, अडानीको व्यापारिक साम्राज्य पनि भारतभर फैलिन थाल्यो । चुनावको प्रचारका क्रममा होस् वा गुजरातबाट दिल्ली आएर प्रधानमन्त्री पदको सपथ लिँदा, मोदी अडानीको निजी विमानमा यात्रा गरेका थिए । जसको चर्चा विश्वभर नै भएको थियो ।

सन् २०१४ मा १ अर्ब ९ कराेड अमेरिकी डलर रहेको अडानीको सम्पत्ति २०२० सम्ममा २६ बिलियन पुगेको थियो । सन् २०२२ को अन्त्य तथा २०२३ को शुरुवातमा विश्वकै शीर्ष चौथो धनी व्यक्तिमा पर्न सफल अडानीको कुल सम्पत्ति ८४ अर्ब ४ करोड अमेरिकी डलर पुगेको थियो । अडानीको सम्पत्ति नेपालको कूल बजेटभन्दा ७ गुणाले बढी हो ।

अडानीको सम्पत्तिमा भएको यो अस्वाभाविक बृद्धिलाई मोदी सरकारले भारतमा लागू गरेको निजीकरणको नीति र व्यवसायलाई सहज हुने नियमहरुसँग जोडेर हेरिन्छ । जसको प्रत्यक्ष प्रभावका रुपमा अडानीले थुप्रै सरकारी टेण्डर र विकास निर्माणका परियोजनाहरु हात पारे । अर्थात् अडानीको व्यापारिक साम्राज्य फैलाउनका लागि मोदीले नीति नियमनै बदलिदिए । मोदीले यसलाई ‘राष्ट्र विकास’ भन्ने गरे पनि धेरैको मतमा भने यो भारतीय सरकारको आसेपासे पुँजीवादी चरित्रको प्रस्फुटन हो ।

सन् २०१८ मा भारतीय सरकारको विवादास्पद निर्णयकै कारण अडानीले ६ वटा एयरपोर्टको व्यवस्थापनको टेण्डर जितेका थिए । अडानी समूहले यसअघि एयरपोर्ट क्षेत्रमा कुनै पनि काम नगरेको भए पनि भारत सरकारले रातारात यो कम्पनीलाई एयरपोर्ट व्यवस्थापनको जिम्मा दिएको थियो । केरलाको त्रिभनाद्रम अन्तराष्ट्रिय विमानस्थल त अडानी समूहले ५० वर्षका लागि लिजमा लिएर सञ्चालन गर्ने अनुमति पाएको छ । र, भारत सरकारको निर्णयलाई थुप्रैले विरोध पनि गरेका थिए ।

कोरोना महामारीपछि भारत सरकारले निजीकरणको अभ्यासलाई तीव्र गतिमा सञ्चालन गर्दा अडानीको साम्राज्यको विस्तारपछि उत्तिकै तीव्र गतिमा भएको थियो ।

सन् २०१९ को अन्त्यतर्फ जब मोदी आफ्नो पहिलो कार्यकालको अन्तिम समयमा थिए, तब दिल्लीले अडानीको गोड्डा थर्मल पावर प्लान्ट ‘विशेष आर्थिक क्षेत्र’ निर्धारण गर्ने निर्णय गरेको थियो । यसका लागि मोदी सरकारले अडानीलाई विशेषरुपमा करमा समेत छुट दिने निर्णय गरेको थियो । जसको भरपूर फाइदा अडानीले उपयोग गरिरहेका छन् ।

अडानीले पछिल्ला केही दिनमा मात्रै आफ्नो सम्पत्तीका २२ प्रतिशत गुमाइसकेका छन् । र, अहिले उनको कुल सम्पत्ति (नेट वर्थ) ८९ खर्ब ३८ अर्ब ४३ करोड अर्थात् ६८ अर्ब ९ करोड अमेरिकी डलरमा झरेको छ ।

गत साता अर्थात् २५ जनवरीमा प्रकाशित भएको अमेरिकी रिसर्च संस्था ‘हिडेनबर्ग रिसर्च’ले अडानीमाथि गरेको रिपोर्ट सार्वजनिक भएपछि अडानी इतिहासकै कठोर संघर्षसँग जुधिरहेका छन् । तर, यो संघर्ष उनले उचाई चुम्नका लागि भइरहेको छैन, आफूले निर्माण गरेको साम्राज्य नभत्कियोस् भनेर छ ।

शक्तिको आडमा राज्यको स्रोत र साधनको दोहन गरेर छोटो अवधिमै चरम सफलता हासिल गरेका अडानीलाई अहिले आफ्नो उक्त साम्राज्य गर्ल्याम्मगुर्लुम्म ढल्न नदिन ठूलो दबाब छ ।

अडानी ग्रुपले हिडेनबर्गको रिपोर्टलाई ‘भारत विरुद्धको हमला’को संज्ञा दिएर आफ्नो बचाउ गर्न खोजे पनि उनको सम्पत्ति भने सेकेन्ड सेकेन्डमा घटिरहेको छ । फोब्र्स म्यागेजिनको विश्वभरका धनी व्यक्तिहरुको सूचिमा चौथो स्थानमा रहेका अडानी एक सातामै १६औं स्थानमा झरेका छन् । एक सातामै उनले २५ खर्ब ६८ अर्ब ६६ करोड ३९ रुपैयाँ (१९.८ बिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति गुमाइसकेका छन् । उनले गुमाएको सम्पत्ति हिडेनबर्ग रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि उनीसँग रहेको कुल सम्पत्तिको २२.३४ प्रतिशत हो । अडानीले जसरी आफ्नो सम्पत्ति रातारात बढाएका थिए, अहिले उनको सम्पत्ति त्यो भन्दा तीब्र गतिमा घटिरहेको छ ।

आफूलाई संसारभरकै उन्नत लोकतन्त्र भएको नमूना देशको रुपमा चित्रण गर्ने भारतमा सत्ता र मुख्यतः मोदीको आलोचना गरिने प्रमुखमध्येका कारण हुन् अडानी । भारत सरकार र सत्तामाथि आलोचकहरुले लगाउने ‘हुनेखानेको सत्ता’ आरोपका अनेकौं कारणहरुमध्ये अडानी प्रमुख पर्छन् । यसको कारण भने अडानी र मोदीबीचको सम्बन्ध नै हो ।

निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका अडानीले खर्च अभावकै कारण पढाई बीचमै छाड्नु परेको थियो । मोटो ऋणका कारण आर्थिक अवस्था खराब भएका अडानी अहिले पनि संसारकै शीर्ष धनीमध्येमा छन् । एक हप्तामा गुमाएको सम्पत्ति नेपालका कूल अर्थतन्त्रको आकार बराबर छ ।

अडानीको जन्म सन् १९६२ मा अहमदावादमा बसोबास गर्ने गुजराती परिवारमा भएको थियो । उनका बाबुआमाका ७ सन्तान थिए । अडानीबारे लेखिएको जीवनी ‘गौतम अडानीः रिइमेजिङ्ग बिजनेस इन इण्डिया एण्ड द वर्ड’ नामक पुस्तकका लेखक भारतीय पत्रकार आरएन भास्कर पनि उनको जन्म ‘सीमित स्रोधसाधन’ भएको परिवारमा भएको बताउँछन् ।

गौतम अडानीको आर्थिक बृद्धिको कथा धेरैका लागि प्रेरणाको स्रोत त छ नै । उत्तिकै मानिसहरुका लागि उनको प्रगति विवादै विवादले घेरिएको पनि छ ।

अडानीले आफ्नो उद्योगहरु स्थापना गर्न कानुनका कमीकमजोरीहरुको फाइदा उठाएको र सरकारकै सहयोगमा सस्तो मूल्यमा जमिनहरु प्राप्त गरेको आरोप लाग्दै आएको छ । त्यसो त अडानी स्वयंले यी आरोपहरुलाई धेरै पटक मनगणन्ते भएको भन्दै खण्डन गरिसकेका छन् । तर, गम्भीर प्रश्न भने फि तिर्न नसकेर कलेजमा आफ्नो पढाई पहिलो वर्षमै छाडेका अडानी कसरी खर्बौं सम्पत्तिका मालिक बने ? उनका कम्पनीका सेयरहरु किन अस्वाभाविकरुपमा बढिरहेका थिए ? भन्ने प्रश्नहरुले अडानीलाई लपेटिरह्यो । र, २५ जनवरीमा सार्वजनिक भएको हिडेनबर्ग रिपोर्टले पनि अडानीमाथि यस्तै प्रश्नहरु उठाएको थियो । कमजोर धरातल र ऋणमा उनको व्यवसायिक साम्राज्य स्थापित भएको भन्ने आशयमा आधारित रहेको उक्त रिपोर्टमा ८८ वटा प्रश्न सोधिएको छ । ती प्रश्नहरुको जवाफमा अडानीले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरिसकेका छन् । तर, अझै पनि उनले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै आलोचना खेपिरहनु परेको छ ।

जब गौतम अडानी १५÷१६ वर्षका थिए, तब उनी साइकल र त्यसपछि स्कुटरमा कपडा बेच्ने काम गर्थे । त्यो बेला अडानीका साथी रहेका गिरीशभाई दानीलाई अझैं पति ती दिनहरु याद छन् । उनी भन्छन्, ‘त्यो बेला अडानी साइकलमा कपडा बेच्न घरघर र दोकानहरुमा जाने गर्थे । उनी किै मिहेनती थिए ।’

अडानीको यो इतिहासको प्रमाण अझै पनि पाइन्छ । अहदावादको पुरानो शहरमा अझैं पनि उनका बुबाको कम्पनी ‘अडानी टेक्सटायल’को बोर्ड पाइन्छ । भलै त्यो बोर्डमा खिया लागेको होस्, त्यो अझै पनि रहेको छ ।

छेउछाउका व्यापारीहरुका अनुसार उक्त पसल अझै पनि अडानीले आफ्नै नाममा राखेका छन् । त्यो यी व्यापारीहरुमध्ये कसैलाई पनि थाहा थिएन, त्यो बेला यो पसल सञ्चालन गरिरहेका व्यक्ति ४/५ दशकपछि संसारकै धनी व्यक्ति बन्छ ।

अडानीको वयापरिक साम्राज्य अहिले भारतभर फैलिएको छ । विकास निर्माण, कोइलाको आयात तथा कारोबार, उर्जा क्षेत्र, एयरपोर्टको व्यवस्थापन, बन्दरगाहको व्यवस्थापन तथा सञ्चालन, यातायात तथा आयात निर्यातजस्ता धेरै क्षेत्रमा अडानीको हात रहेको छ । सँगै थुप्रै अन्य कम्पनीहरुमा पनि उनको लगानी रहेको छ ।

अडानीको यही साम्राज्यको नकरात्मक पाटो चाहीँ अहिले देखिएको छ ।

यसको उदाहरण हो ‘भारतीय विमा संस्थान (एलआईसी)’ । एलआईसी बजार पुँजी पछिल्ला दिनहरुमा ४ लाख ४४ हजार करोडबाट घटेर ३ लाख ७८ हजार करोड रुपैयाँ पुगेको छ । हिडेनबर्ग रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि जनवरी २४ मा एलआईसीको बजार पुँजी ४ लाख ४४ हजार करोड भारतीय रुपैयाँ रहेको थियो । पाँच दिनमा उक्त कम्पनीको सेयर भारतीय सेयर बजारमा १४.७३ प्रतिशतले कम भएको छ ।

यो सबैको कारण भने एलआईसीले अडानीको व्यापारिक कम्पनीहरुमा गरेको लगानी हो । एलआईसीले ‘अडानी इन्टरप्राइजेज’, ‘अडानी पोर्टस्’, ‘अडानी टोटल ग्यास’जस्ता अडानी समूहका कम्पनीहरुमा लगानी गरेको छ ।

भारतीय सत्ता र नेतृत्व अडानीप्रति कति उदार छ भन्ने कुराको स्पष्ट प्रमाण यो पनि हो । आफ्नो शहर गुजरात छाडेर अडानी मुम्बई आएका थिए । मुम्बईमा उनले हिराको काम गर्ने कम्पनीमा काम गरे । त्यसपछि उनी आफैंले मुम्बईको झावेरीमा एउटा हिराको ‘ब्रोकरेज आउटफिट’ खोलेका थिए ।

त्यसपछि नै उनको व्यवसायिक यात्रा सुरु भएको थियो । सन् १९७७ मा उनले आयात–निर्यात सम्बन्धी काम गर्ने कम्पनी खोलेका थिए ।

हिरा छान्दै सुरु भएको अडानीको व्यावसायिक यात्रा एकातिर थियो । उनले गुजरात विश्वविद्यालयमा पढ्न शुरु गरेको कर्मश विषयको पढाई छाडिसकेका थिए ।

१९८७ मा मुम्बई आएका अडानीले सन् १९८१ मा उनका दाई महासुकभाई अडानीसँग मिलेर प्यास्टिक व्यवसायको सुरुवात गरेका थिए । प्लास्टिक ¥यापिङ कम्पनीको सुरुवात गरेका थिए उनीहरुले । तर, कम्पनीका लागि आवश्यक कच्चा पदार्थको अभाव भइरहेको थियो ।

दाजुभाई मिलेर शुरु गरेको व्यवसायमा गौतम अडानीको जिम्मामा व्यवसाय सञ्चालनतर्फको विभाग थियो । तर, कच्चा पदार्थको अभावका कारण कम्पनीमा उनीहरुले धेरै हन्डर खाएको बताइन्छ ।

कलान्तरमा यहि कम्पनी विश्वव्यापी रुपमा पोलिभिनल क्लोराईड (पिभिसी) आयात गर्ने कम्पनी बनेर अडानीको व्यवसायिक ढोका खोल्ने कम्पनी पनि बनेको थियो । सन् १९८५ बाट उनीहरुले विभिन्न देशबाट पिभिसीका सामग्रीहरु ल्याउँथे । सन् १९८८ मा अडानी समूहले ‘अडानी एस्पोर्टस’ शुरु गरेको थियो, जुन अहिले ‘अडानी इन्टरप्राइजेज’ बनेको छ । शुरुवातमा कृषि र उर्जा क्षेत्रमा सम्बन्धित काम गर्ने गरेको यो कम्पनी अडानी ग्रुपको व्यवसायिक साम्राज्य निर्माण गर्ने पहिलो खुड्किलो थियो ।

१९९४ मा गुजरातको सरकारले मुन्द्रा बन्दरगाहको व्यवस्थापन तथा सञ्चालनका लागि ठेक्का आह्वान गरेको थियो । र यो ठेक्का अडानीकै कम्पनीले पायो । त्यसपछि भने उनीहरुको भाग्य चम्कियो । १९९५ भन्दा अघिसम्म मुन्द्रा पोर्ट एण्ड स्पेसियल इकोनोमिक जोनले सञ्चालन गरिरहेको बन्दरगाहको काम अब अडानी पोर्टस एण्ड एसइजी (एप्सेज)ले गर्न थाल्यो । अहिले यो कम्पनी भारतमा विभिन्न बन्दरगाह सञ्चालन गर्ने कम्पनी बनेको छ । मुन्द्राको बन्दरगाह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह हो, जहाँ वर्षेनी २१० मिलियन टनभन्दा बढी कार्गो व्यवस्थापन हुनेगर्छ ।

फर्चुन इण्डिया म्यागजिनले २०११ मा नै अडानीलाई दोस्रो धिरुभाई अम्बानीको रुपमा उदाउने भनेको थियो । धिरुभाई भारतमा व्यावसायिक परिदृश्यको सिर्जना गर्ने अग्रणी थिए । अम्बानीकै पुस्ताबाट अहिलेको अम्बानी ग्रुपको शुरुवात भएको थियो ।

१९९४ मा बन्दरगाहमार्फत् शुरु भएको अडानीको साम्राज्य २००९ सम्म आइपुग्दा विद्युत् उत्पादनसम्म पुगेको थियो । यो बीचमा उनले कर्मशियल बन्दरगाह सञ्चालन गर्नेदेखि ५ सयभन्दा धेरै जमिनदारहरुसँग सम्बन्ध बनाएर उनले रेल र सडकबारे सम्बन्ध विस्तार गरेका छन् ।

अडानी ग्रुपको वेबसाइटमा राखिएअनुसार अडानी एयरपोर्टले भारतको अह्मदावाद, लखनाउ, मंगलुरु, जयपुर, गुहानी र थिरुभनाथपुरमका एयरपोर्टलाई अनुनिकिकरण र सञ्चालन गर्ने बताएको छ । यसमध्ये २०२० फेब्रुअरीमै कम्पनीले तीन एयरपोर्टको सुधार र आगामी विषय वर्षको सञ्चालनका लागि अनुमति लिइसकेको छ ।

तर, भारतीय सरकारले अडानीलाई गरेको प्रेम र दिएको स्नेह भने यसअघि नै पनि विवादमा आइरहने विषय हो । मुन्द्रा बन्दरगाह र विशेष आर्थिक क्षेत्र, हवाई अड्डाको लिलामीको विषय र गोड्डा थर्मल पावर प्लान्ट केही ठूला परियोजनाहरु हुन्, जसले अडानीलाई विवादमा तानेको थियो । यी तीनै वटा परियोजनाहरु अर्बौं रुपैयाँका परियोजनाहरु हुन्, जसलाई नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले अडानीको पोल्टोमा खसालिदिएको छ ।

अडानीको अर्को पाटो आफू विवादमा आइरहँदा विवादमा ल्याउने तत्वलाई चुप लगाउनु पनि हो । अहिले हिडेनबर्ग रिपोर्ट सार्वजनिक भइरहँदा भारतको व्यवसायिक समूह रहेको अडानी ग्रुपले यो रिपोर्टलाई भारतमाथि कै हमलाको संज्ञा दिइरहेको छ । तर, यो प्रथम पटक होइन । र यो अडानी समूहले गर्ने गरेको वा चाल्ने कदमको केही प्रतिशत मात्र हो ।

मोदी सरकार र मोदी सरकारले व्यवसायिक व्यक्ति तथा समूहमाथि गर्ने लाभबारे निरन्तर आवाज उठाइरहने ‘एनडिटिभी’ नामक भारतीय टेलिभिजन च्यानललाई अडानीले केही समयअघि मात्रै खरिद गरे । कम्पनीको अधिकतम् सेयर अडानी समूहले आफ्नो हात पारेको थियो ।

यो घटनालाई पनि धेरैले अडानीले आफूलाई मोदीले गरेको लाभको बदला तिरेको रुपमा हेरेका थिए । अडानीले सेयर किनेसागै एनडिटीभीले मोदीको आलोचना गर्न छाड्यो । भारतीय कांग्रेसका नेता राहुल गान्धी र अन्य विपक्षी नेताहरुले पनि नरेन्द्र मोदीमाथि आसेपासे पुँजीवादको कट्टर समर्थक भएको आरोप समेत लगाएका थिए ।

अडानीको व्यापारिक साम्राज्य ऋण नै ऋणमा हुर्किएको पहाड भएको आरोप पनि लाग्ने गर्छ । अहिले हिडेनबर्ग रिपोर्टले अडानीमाथि गरेको खुलासाको प्रमुख प्रश्न यो पनि रहेको छ ।

तर, उनीमाथि यस्तो आरोप लागेको यो पहिलो पटक भने होइन।

ऋणबारेमा अनुसन्धान गर्ने कम्पनी क्रेडिटसाइट्सले २०२२ अगस्टमा नै अडानीको कारोबार ऋणको गहिराईमा डुबेको साम्राज्य भएको बताएको थियो । यो रिपोर्टले पनि अडानीको कारोबार र ऋणका कारण उत्पन्न हुने जोखिमहरुको बारेमा पनि कुरा गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएको बेला पनि अडानी समूहको सेयर मूल्यमा गिरावट आएको थियो ।

अहिले पनि अडानीमाथि गरिएको शोधको रिपोर्ट हिडेनबर्ग रिसर्चले सार्वजनिक गरेको बेला फेरि त्यस्तै कुरा दोहोरिरहेको छ । अडानीमाथि निरन्तर उठ्ने गरेको प्रश्नहरु यी कम्पनीहरुले पनि उठाएका छन् । अचानक भएको उनको उदयमाथि धेरैले निरन्तर प्रश्न गरिरहेका छन् भने अडानीका कम्पनीहरुमा हुने आर्थिक उतारचढावको असर भारतीय सरकारका विभिन्न संस्थानसम्मले भोगिरहेका छन् ।

इण्डियन एक्सप्रेसका अनुसार बुधबार अडानी समूहका सम्पूर्ण कम्पनीहरुको सेयरमा गिरावट आएको छ । यही कारण अडानी समूहले ल्याउन लागेको आफ्नो कम्पनीको ‘एफपीओ’बाट पनि पछि हटेको छ । एक व्यक्तिको सम्पत्ति र व्यापारिक समूहको सेयरमा भएको गिरावटका कारण भारतीय सेयर बजारमा नै ठूलो उतारचढाव देखिएको छ । अडानीको उदय र विश्वका धनी व्यक्तिहरुको रुपमा उनी आउनु जति आकस्मिक थियो, त्यस्तै आकस्मिक अहिले उनको सम्पत्ति, उनका कम्पनीहरुको सेयर र उनीमाथि गरिएका लगानीहरुमा भएको गिरावट हो । यसरी नै अडानीको सम्पत्ति घटिरहने हो भने भारतको वित्तीय प्रणालीमै समस्या उत्पन्न हुनसक्छ । अडानीको अनुहार देखेर उनको कम्पनीमा लगानी गर्ने लाखौंको कन्तबिजोग हुनसक्छ ।

यसबाट के प्रष्ट हुन्छ भने जो व्यक्ति सत्ता र शक्तिको आडमा रातारात धनी बन्छ, उ आफूमात्रै डुब्दैन, हजारौं अझ भनौं लाखौंलाई डुबाउँछ । अब अडानीको व्यापारिक उडानको गति कसरी अगाडि बढ्छ ? डुब्छन् वा उक्सिन्छन् ? मोदीले कसरी साथ दिन्छन् ? यी प्रश्नहरुको जवाफ भने समयले दिने नै छ ।


क्लिकमान्डु