६ वर्षको अवधिमा सुनको मूल्य दोब्बरले बढ्यो, कुन वर्ष कति मूल्यमा कारोबार ?



काठमाडौं । सुनको मूल्य ६ वर्षको अवधिमा झण्डै दोब्बरले बढेको छ । २०७३ सालदेखि २०७९ को माघसम्म आइपुग्दा सुनको मूल्य दोब्बरले भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार २०७३ देखि २०७९ सम्ममा हरेक वर्ष २ हजारदेखि १७ हजार रुपैयाँसम्म बढेको देखिन्छ । २०७३ सालमा छापावाला सुनको मूल्य प्रतितोला ५५ हजार रुपैयाँमा कायम भएको थियो । करिब ६ वर्षको अवधिमा सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ ।

२०७३ सालको माघ महिनाको तुलना यो वर्षको सोही महिनाको तुलना गर्दा ५२ हजार ५०० रुपैयाँसम्म बढेको छ ।
२०७३ सालको माघ महिनामा छापावाला सुनको मूल्य प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । सो महिनामा केही रकमले घटबढ भर्य ५५ हजार रुपैयाँमा सुनको मूल्य सीमित भएको थियो ।

त्यस्तै, एक वर्षपछि अर्थात् २०७४ सालमा छापावाला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कले देखाउँछ । २०७४ को माघ महिनामा सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको देखिन्छ।

समग्रको तथ्याङ्क हेर्दा हरेक वर्ष सुनको मूल्य बढ्दै गएको पाइएको छ । जसमा २०७५ सालको माघ महिनामा ६२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०७४ सालको तुलनामा २०७५ सालमा प्रतितोला ५ हजार रुपैयाँले बढेको तथ्याङ्कले उल्लेख गर्छ ।

महासंघअनुसार २०७६ को माघसम्ममा आइपुग्दा प्रतितोला १३ हजार रुपैयाँले बढेको देखिन्छ । माघ महिनामा छापावाला सुनको मूल्य प्रतितोला ७४ हजारदेखि ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साथै, सुनको मूल्य निरन्तर बढेर २०७७ को माघमा ९० हजारदेखि ९२ हजार रुपैयाँसम्म कारोबार भएको थियो । सो महिनामा छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँसम्म कायम भएको थियो । महासंघअनुसार २०७६ सालको तुलनामा २०७७ मा १५ हजारदेखि १७ हजारसम्म बढेको देखाउँछ ।

त्यस्तै, २०७८ को माघ महिनामा ९० हजारदेखि ९४ हजार रुपैयाँ कायम भएको तथ्याङ्कले उल्लेख गर्छ । साथै, गत वर्षभरी सुनको मूल्य प्रतितोला ९० हजारदेखि १ लाख १ लाख १५ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, यो वर्षको शुरुवातदेखि सुनको मूल्यमा वृद्धि भएको थियो । रुस–युक्रेनबीचको द्वन्द्वले पनि सुनको मूल्य प्रतितोता १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । तर, पछिल्ला दिनमा सुनको मूल्य घटबढ भई ९३ हजारदेखि ९९ हजार रुपैयाँसम्म कारोबार भइरहेको थियो ।

महासंघअनुसार मंसिरको अन्त्यदेखि पुनः निरन्तर बढेर सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत पुसमा छापावाला सुनको मूल्य १ लाखभन्दा कम हुन सकेको छैन । साथै, माघ महिनामा सुनको मूल्य बढेर झनै नयाँ रेकर्ड कायम भएको छ ।

गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्यको रेकर्ड तोडेर बिहीबार (आज) नयाँ मूल्य कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बजारमा सुनको मूल्य उच्च बढेसँगै माग ह्वात्तै घटेको छ । बजारमा माग नहुँदा व्यवसायीहरुले केही समयको लागि आयात बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।


क्लिकमान्डु