सगरमाथा र लुम्बिनी जनरल मर्जरपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स बन्ने, सीईओमा क्षेत्री



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा लुम्बिनी जनरलका अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहने सहमति भएको छ ।

मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ ।

यस्तै, दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति तथा डिडिए प्रतिवेदनका आधारमा सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) १००:८० कायम भएको छ ।

साथै दुवै कम्पनीको आव २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणनाा गरी मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्ने छ ।

यस्तै, मर्जर पश्चात बन्ने कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरलबाट मनोहर दास मुल र प्रमुख कार्यकारी अधिकृतमा भने सगरमाथाका हालका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्री रहनेछन् ।


क्लिकमान्डु