मर्जर सम्बन्धी छलफलमा उपस्थित हुन तीन बीमा कम्पनीलाई निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई छलफलमा बोलाएको छ ।

प्राधिकरणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई माघ १८ गते(बुधबार) छलफलमा बोलाएको हो ।

यी कम्पनीहरुलाई मर्जरसम्बन्धी छलफलका लागि बोलाइएको प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले बताए । मर्जरको प्रगती विवरणसहित छलफलमा उपस्थित हुन निर्देशन दिएको उनको भनाइ छ ।

यस्तै, प्राधिकरणले यी तीनवटै कम्पनीहरुलाई मर्जरमा जाने वा नजाने भनेर पत्रसमेत पठाएको उनले बताए । सोही विषयमा थप छलफलका लागि उपस्थित हुन प्राधिकरणले निर्देशन दिएको हो । कोकोसँग जोडी बाँधेर आउने अर्थात चुक्ता पुँजी कसरी पुर्याउने हो लगायतका विषयमा छलफल गरिने उनको भनाइ छ ।

प्राधिकरणको निर्देशनअुसार निर्जीवन बीमा कम्पाीहरुले २०७९ चैत मसान्तसम्म साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । तर, यी कम्पनीहरुले अहिलेसम्म पनि कुनै पनि योजना पेश नगरेको प्राधिकरणले जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ पुँजी छ । अब कम्पनीले एक अर्ब २ करोड थप गर्नुपर्नेछ । प्रुडेन्सियल इन्स्योरेन्सको पुँजी एक अर्ब २५ करोड रुपैयाँ पुँजी छ । कम्पनीले अब एक अर्ब २४ करोड रुपैयाँ थप गर्नुपर्नेछ । यस्तै, आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १ करोड रुपैयाँ छ । प्राधिकरणले ताके बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनीले ६ करोड रुपैयाँ थप गर्नुपर्छ ।

एकै खालका कम्पनीमा एउटै लगानीकर्ता सहभागी हुँदा स्वार्थ बाझिने हुँदा प्राधिकरणले क्रस होल्डिङ्ग भएका कम्पनीलाई अनिवार्य रुपमा क्रस होल्डिङ्ग हटाउन भनेको थियो ।

प्राधिकरणकाअनुसार तीन निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा क्रस होल्डिङ छ ।

यी कम्पनीहरुलाई प्राधिककरणले गत असार महिनामा नै क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो । क्रस होल्डिङ नहटाएमा मर्जरमा जान समेत निर्देशन प्राधिकरणले दिएको थियो ।

मर्जरको प्रक्रिया अगाडी नबढाएपछि यी तीन वटै कम्पनीलाई प्राधिकरणले पटक पटक बोलाएर स्पष्टिकरण समेत लिँदै आएको थियो । कम्पनीहरु कुनै पनि निर्णयमा नपुगेपछि प्राधिकरणले पुनः छलफलका लागि बोलाएको हो ।


क्लिकमान्डु