आत्मदाह गरेका आचार्यको निधनपछि गृहमन्त्री लामिछानेले भने- म दोषी छु



काठमाडौं । गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले नयाँ राजनीतिक दल र नेताको रुपमा आत्मदाह गरेका प्रेम आचार्यमा आशा जगाउन नसेको भन्दै माफ मागेका छन् ।

मंगलबार संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाएका आचार्यको उपचारका क्रममा आज निधन भएपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालबाट आफूहरुजस्ता नयाँहरुको आगमनलेसमेत आचार्यजस्ता व्यक्तिमा उत्साह थप्न नसेको, आशा जनाउन र आत्मदाहको निर्णय फेर्न नसकेको दु:ख व्यक्त गरेका छन् ।

‘दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु’ उनले भनेका छन् ।

लामिछानेले भनेका छन्,’एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।’


क्लिकमान्डु