एलजीले सार्वजनिक गर्‍यो ‘एसेन्सियल सिरिज’का घरेलु उपकरण

84
Shares

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले नयाँ घरेलु उपकरण श्रृंखला ‘एसेन्सियल सिरिज’ बजारमा ल्याएको छ ।

एलजी इलेक्ट्रोनिक्स सिंगापुर र यसको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सको सहकार्यमा भरतपुरस्थित होटल विवान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच यो नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो ।

‘हरेक घरको खुशी, घर-घरमा एलजी’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको यस श्रृंखलामा आधुनिक प्रविधि र किफायती मूल्यलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

नेपाली घरपरिवारको दैनिक आवश्यकता र यहाँको स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएको यस श्रृंखलामा डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रूम एयर कन्डिसनरहरू समावेश छन् ।

यी उत्पादनहरूले नेपाली उपभोक्ताको गुणस्तरीय जीवनशैलीलाई थप सहज र सुलभ बनाउने विश्वास लिइएको छ । कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले एलजीका उत्पादनहरू टिकाउपन र उत्कृष्ट कार्यसम्पादनका लागि परिचित रहेको र यो नयाँ सिरिजले मध्यम वर्गीय परिवारका लागि अझै धेरै विकल्प दिने बताएका छन् ।

विशेषताका आधारमा, नयाँ रेफ्रिजेरेटरमा ‘फ्रोस्ट-फ्री’ प्रविधि जडान गरिएको छ, जसले म्यानुअल रूपमा हिउँ पखाल्नुपर्ने झन्झटलाई हटाउँछ । यसमा रहेको ‘स्मार्ट मोड’ ले मौसम अनुसार भित्रको चिस्यानलाई आफैं नियन्त्रण गर्छ भने तरकारी भण्डारणका लागि अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी ठाउँ दिइएको छ । त्यस्तै, वासिङ मेसिनमा नेपालको कम पानीको चाप हुने समस्यालाई समाधान गर्न ‘लो-प्रेसर फिल’ प्रविधि प्रयोग गरिएको छ । यसमा प्रो-शिल्ड मोटर र पानीले नबिग्रने वाटर-रजिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुरक्षात्मक सुविधाहरू पनि समावेश छन् ।

गर्मी र जाडो दुवै मौसममा उपयोगी हुने गरी ल्याइएको नयाँ एयर कन्डिसनर ऊर्जा-दक्ष रहेको कम्पनीको दाबी छ । परम्परागत नन-इन्भर्टर एसीको तुलनामा यसले निकै कम बिजुली खपत गर्ने र वातावरणमैत्री R32 रेफ्रिजेरेन्ट प्रयोग गरिएको छ । शान्त सञ्चालन र प्रभावकारी कुलिङ तथा हिटिङ क्षमता यसका मुख्य विशेषता हुन् । यी सम्पूर्ण नयाँ उत्पादनहरू सन् २०२६ जुन महिनादेखि देशभरका एलजी ब्रान्ड शप, रिटेल आउटलेट र प्रमुख ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध हुनेछन् ।

बजार मूल्यका हिसाबले निकै प्रतिस्पर्धात्मक मानिएको यस सिरिजका सुरुवाती मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुनेछ । नेपालमा विगत चार दशकदेखि सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूलाई विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ । यस सहकार्यले नेपाली बजारमा अत्याधुनिक प्रविधिलाई सर्वसुलभ बनाउन थप मद्दत पुग्ने कम्पनीले उल्लेख गरेको छ ।