एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने(बोनस दिने गरी) जारी भएका बीमलेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार अधिकतम ७० रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनसदर कायम गरेको छ।

कुन योजनामा कति ?

कम्पनीको सावधिक तथा अजाीवन बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । यस योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा प्रतिहजार ७५ रुपैयाँ बोनसदर पाइनेछ ।

सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रतिहजार न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर कायम भएको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनेछ । साथै, बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि पनि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा समेत यहि बोनसदर कायम हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु