बुध्द एयरले क्यानडाको कम्पनीलाई बेच्यो २५ वर्ष पुरानो विमान



काठमाडौं । बुध्द एयरले २५ वर्ष पुरानो विमान क्यानडाको कम्पनीलाई बिक्री गरेको छ । अहिलेसम्म ७५ हजार उडान अवतरण भइसकेको विमान क्यानडाको कम्पनीले खरिद गरेको हो ।

बि १९०० डि नम्बरको विमान उडान योग्य अवस्थामै बुध्द एयरले बिक्री गरेको हो ।

बुध्द एयरले एटिआर विमानमात्रै उडाउने निर्णय गरेपछि बिचक्राफ्ट कम्पनीले १९ सिटे विमान बिक्री गर्ने निर्णण गरिएको कम्पनीका प्राविधिक निर्देशक मंगेश थापा जानकारी दिए ।

‘विमान पुरानो हुने भए २५ वर्ष सञ्चालन भएको विमान क्यानडा जस्तो देशमा बिक्री हुने थिएन, नेपालमा बरु १५ वर्ष पुराना विमान ल्याउन नमिल्ने व्यवस्था छ,’ थापाले भने, ‘विमान नियमित मर्मत सम्भार भएको छ भने पुराना हुँदैन । क्यानडाबाट आएका प्राविधिकले बि १९०० डि विमान हेरेका थिए । उहाँहरुले विमान उडान योग्य अवस्थामा भएकाले खरिद गरेर लैजानु भएको हो ।’

बुध्द एयरका एक अधिकारीका अनुसार दुई साताभित्रमा बि १९०० डि विमान क्यानडा जानेछ । बि १९०० डि विमानले १९९७ सेप्टेम्बरमा पहिलो उडान भरेको थियो । त्यसयता विमान निर्माता कम्पनीले निर्धारण गरेको मापदण्ड अनुसार मर्मत सम्भार गरेकाले उडान योग्य अवस्थामा रहेको थापाको दाबी छ ।

कुनै विमानस्थलबाट एकपटक उडेको विमान अर्काे विमानस्थलमा पुग्ने सम्मको अवधीलाई एक साइकल भन्ने गरिन्छ । एकपटक इन्जिन चलेर बन्द हुदाँ विमानको एक साइकल अवधी पुरा हुन्छ ।

मानौं विमान एकपटक उडेर ४ घण्टा उडोस् वा ३० मिनेटअवतरण हुँदा एक साइकल पुरा भएको मानिन्छ । यदि धेरै घण्टा उडेर पनि साइकल अवधी कम भएमा उडान घण्टाका आधारमा विमान मर्मत गर्ने गरिन्छ । यदी उडान घण्टा कम भएर साइकल अवधी धेरै भएमा साइकल अवधीका आधारमा विमान मर्मत गरिने थापा बताउँछन् ।

थापाका अनुसार पहिलोपटक १२ हजार घण्टा वा १६ हजार उडान साइकल जुन पुरा भयो त्यसपछि विमान पूर्णरुपमा मर्मत गर्नु पर्छ ।

त्यसपछि प्रत्येक ३ हजार घण्टा वा ४ हजार साइकलमा विमानको पूर्ण मर्मत गर्नु पर्ने व्यवस्था छ । ७५ हजार साइकल उडान र अवतरण हुँदा समेत विमान उड्न योग्य अवस्थामा रहेको थापा बताउँछन् ।


क्लिकमान्डु