नेप्सेका सीईओले अनाधिकृत व्यक्ति ल्याएर काम गराएको युनियनको आरोप



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कार्यालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दैनिक कार्य सञ्चालन गराएको भन्दै विरोध जनाएका छन् । कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन् ।

‘केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेको प्रमुख कार्यकारी अधिकृतले अनधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराइ दैनिक कार्य सञ्चालन गराउँदै आएको विषय प्रति नेप्से कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्य÷तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछौ’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेप्सेका अधिकारीका अनुसार सीईओ कृष्ण बहादुर कार्कीले असार अन्तिमसाता मासिक ८० हजार रुपैयाँ तलब दिने गरि ६ महिनाको लागि विज्ञ नियुक्त गरेका छन् । सीईओ कार्कीले उक्त समयमा कृष्ण गिरीलाई नियुक्त गरेका हुन् ।

उनलाई विज्ञ भनेर राखेको भएपनि विज्ञको रुपमा के काम गर्ने भन्ने बारेमा सबैमा कसैलाई पनि जानकारी नभएको एक कर्मचारीले बताए । कार्कीले नियुक्त गरेका विज्ञले अहिले नेप्सेका हरेक आन्तरिक बैठकमा जाने र उनी गएर बैठकमा विभागीय प्रमुखहरुलाई अनावश्यक हस्तक्षेप गर्ने गरेको कर्मचारीको आरोप छ ।


क्लिकमान्डु