माया खोला हाइड्रोपावरले आईपिओ निष्कासन गर्ने, एक लाख कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता सय रुपैयाँका दरले १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले ३४ करोडको ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ ।
२ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ ।