मर्जरपछि पनि पुग्दैन यी बीमा कम्पनीको चुक्ता पुँजी, प्राधिकरणले हकप्रद सेयर जारी गर्ने सुविधा दिने



काठमाडौं । नेपाल बीमा प्राधिकरण(साविकको बीमा समिति)ले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि जीवन तथा निर्जीवन गरी १९ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

जसमध्ये हिमालयन एभरेष्ट (हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स), सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स)र सूर्यज्योति लाइफ(सूर्या लाइफ र ज्योति लाइफ)ले एकीकृत कारोबार गरेका छन् ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इस्योरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी, महालक्ष्मी लाइफ र प्रभु लाइफ, प्रभु अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका कम्पनी हुन् ।

मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमध्ये मर्जरपश्चात पनि केही कम्पनीहरुको चुक्ता पुँजी नपुग्ने देखिन्छ । भने मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरुको पनि पुँजी पुगेको देखिदैन ।

बीमा कम्पनीहरुलाई हकप्रद सेयर निष्कासनमा प्राधिकरणले बन्देज लगाएको थियो । तर, थोरै रकमले पुँजी नपुगेको अवश्थामा भने हकप्रद सेयर जारी गर्न दिईने प्राधिकरणको भनाइ छ । प्राधिकरणकाअनुसार हकप्रद सेयर जारी गर्न पाउने सुविधा मर्जरमा जाने बीमा कम्पनीहरुले मात्रै पाउनेछन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमा गएपछि पनि पुँजी नपुग्ने बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने योजना प्राधिकरणले बनाएको बताए ।

‘पुँजी वृद्धि गर्न मर्जरको बाटो रोजेका र मर्जरपछि पनि पुँजी नपुगेका कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्ने सुविधा दिईन्छ,’ पौडेलले क्लिकमाण्डूँग भने,‘यस्तो सुविधा मर्जरमा गई पुँजी वृद्धि गर्ने योजना बनाएका कम्पनीहरुलाई मात्रै दिईन्छ।’

पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरुलाई भने हकप्रद सेयर जारी गर्न नदिने उनको भनाइ छ ।

‘पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरु भने कारबाहीमा पर्छन्,’पौडेलले थपे,‘जो मर्जरमा गएका छन् तीनिहरुलाई बढीमा २०/२५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिन्छौ ।’

प्राइम, गुराँस र यूनियन, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रक्रियामा छन् । प्राइम, गुराँस र यूनियनले मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

यी कम्पनीहरुले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । कम्पनीहरुबीचमा एक बराबर एकको अनुपातमा गाभिने सहमति जुटिसकेको छ । जसअनुसार कम्पनीहरुको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको पुँजी भन्दा धेरै हो ।

हाल सानिमा लाइफको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ छ । यी कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा असार २९ गते हस्ताक्षर गरेका थिए ।

कम्पनीहरु समान हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात बन्ने नयाँ कम्पनीको पुँजी ४ अर्ब १० करोड पुग्ने छ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीहरुले ९० करोड रुपैयाँ रकम थप गर्नुपर्ने देखिन्छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिने निर्णय गरेका थिए ।

मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ९० करोड रुपैयाँ रकम थप गर्नुपर्ने हुन्छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरुले बराबरी हैसियतमा गाभ्ने÷गाभिने निर्णय गरेका थिए । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र प्रिमियरको १ अर्ब ४० करोड रुपैयाँ छ । नयाँ बन्ने कम्पनीको दुई अर्ब ८० करोड नाघ्ने छ ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए । कम्पनीहरु कुन अनुपातमा गाभिन लागेका खुलाएका छन् ।

यदि १ बराबर १ को अनुापत गाभिए भने नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

अजोडले प्रभुसँग मर्जर तोडिएपछि यूनाइटेडसँग मर्जरमा जाने निर्णय गरेको छ । हाल अजोडको पुँजी एक अबै रुपैयाँ र यूनाइटेडको एक अर्ब ७ करोड रुपैयाँ छ । यी कम्पनीहरु १ः८० को अनुपातमा गाभिन लागेका हुन् ।

मर्ज भई एकीकृत करोबार गरेका कम्पनीको पनि पुगेको छैन पुँजी

साविकको (सूर्या लाइफ र ज्योति लाइफ) सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार थालेका छन् । मर्ज भएपश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी कायम गर्न कम्पनीले अब ४६ करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

हिमालयन एभरेष्ट(हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स) को पनि बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब रुपैयाँ पुँजी पुगेको छैन । कम्पनीले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई २.८९ बोनस सेयर दिने घोषणा गरेको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । बोनस सेयर वितरणपछि पनि कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

सानिमा जिआईसी(साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स) को पनि पुँजी पुगेको छैन । हाल सानिमा जीआईसी कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । नियामकले तोके बमोजिमको साढे दुई अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले अब ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

गत चैत १० गते प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । प्राधिकरणकाअनुसार २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गरिसक्नुपर्ने छ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुलाई प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने बाटो प्राधिकरणले खोलिदिएको थियो ।


क्लिकमान्डु