कृषि तथा बाली बीमाबाट साढे ८५ करोड संकलन, ३ सय प्रतिशतले बढ्यो व्यवसाय



काठमाडौं । कृषि तथा बाली बीमाको व्यवसाय बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा कृषि तथा बाली बीमाको हिस्सा बढेको हो ।

तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुमा कृषि तथा बाली बीमालेखको संख्या समेत बढ्दै गएको छ । कम्पनीहरुमा साउन महिनाको तुलनामा मंसिर महिनासम्ममा ३०५.४५ प्रतिशतले कृषि तथा बाली बीमा व्यवसाय बढेको हो । यस्तै, कृषि तथा बाली बीमालेखको संख्या २४.४७ प्रतिशतले बढेको हो ।

कम्पनीहरुले मंसिरसम्ममा ८५ करोड ६० लाख ५१ हजार रुपैयाँको कृषि तथा बाली बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ६८ हजार ०३४ वटा कृषि तथा बाली बीमाका बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । जुन कुन बीमा व्यवसायको ५.३६ प्रतिशत हो ।

कम्पनीहरुले साउन महिनाको अवधिमा २१ करोड ११ लाख ३४ हजार रुपैयाँको कृषि तथा बाली बीमा व्यवसाय गरेका थिए । जुन कुल निर्जीवन बीमा व्यवसायको ४.७१ प्रतिशत हुन आउथ्यो । उक्त अवधिमा कम्पनीहरुमा लघुबीमाका १६ हजार ६४६ वटा बीमालेख जारी भएका थिए ।

कुन प्रदेशबाट कति व्यवसाय ?

तथ्यांकअनुसार कम्पनीहरुले बागमती प्रदेशबाट धेरै बीमाशुल्क संकलन गरेका छन् । मंसिरसम्ममा कम्पनीहरुले यस प्रदेशबाट ३३ करोड ३९ लाख रुपैयाँको कृषि तथा बाली बीमा व्यवसाय गरेका हुन् । यस प्रदेशमा कृषि तथा बाली बीमाका कुल २६ हजार ९१३ वटा बीमालेख जारी भएका छन् ।

बागमती प्रदेशपछि निर्जीवन लघुबीमा व्यवसायमा लुम्बिनी प्रदेशको योगदान धेरै छ । यस प्रदेशबाट कम्पनीहरुले १४ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशमा लघुबीमाका १३ हजार ३६४ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

बाग्मती र लुम्बिनी प्रदेशपछि गण्डकी प्रदेशबाट कम्पनीहरुले लघुबीमाका ७ हजार ९९६ वटा बीमालेख जारी गरी १२ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गण्डकी प्रदेशपछि कृषि तथा बाली बीमा व्यवसायमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा धेरै ६ कम्पनीहरुले प्रदेश १ मा ९ हजार ९१५ वटा बीमालेख जारी गरी यस अवधिमा ११ करोड ९६ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले मद्येश प्रदेशबाट ८ करोड ९९ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ३ करोड २१ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

मद्येश प्रदेशमा कृषि तथा बाली बीमाका ५ हजार ३८ वटा, सुदुरपश्चिम प्रदेशमा २ हजार ६१७ वटा र कर्णाली प्रदेशमा २ हजार १९१ वटा बीमालेख जारी भएका छन् ।

कृषि तथा बाली बीमाको प्रिमियमा पाइन्छ ८० प्रतिशत अनुदान

नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले २०७० साउन १ गतेदेखि कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

शुरुमा यस बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएकोमा कृषि तथा पशुपन्छी बीमामा कृषकहरु आकर्षित गरी थप प्रभावकारी बनाउनका लागि २०७१ साउन १ गतेदेखि बीमाशुल्कको अनुदानलाई वृद्धि गरी ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरियो ।

साथै, मूल्य अभिवृद्धि करमा छुट समेत प्रदान गर्ने नीति लिएको थियो ।

आव ०७७/७८ मा सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो  । सरकारले चालु आवमा पनि कृषि बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । सरकारले कृषि बीमा अनुदानका लागि ७६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


क्लिकमान्डु