मेट लाइफका बीमितले ८० रुपैयाँसम्म बोनसदर पाउने, कुन योजनामा कति पाईन्छ ?



काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ (१६ जुलाई २०२१ देखि १६ जुलाई २०२२) सम्मका बीमाङ्कीय मूल्याङ्कनअनुसार बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।

सो अवधिसम्ममा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको लागि नयाँ बोनसदर कायम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार बीमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

कुन योजनामा कति ?

इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर तालिकाअनुसार विभिन्न ३ वटा बीमा योजना बिक्री गर्दै आएको छ । कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जनाएको छ ।

१ देखि १५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रति हजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १ देखि १५ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ४५ रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, इन्स्योरेन्सले सावधिक बीमालेखमा प्रतिहजार न्यूनतम ६० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले १ देखि १५ वर्षे बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिका लागि ७० रुपैयाँ र २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि ८० हजार रुपैयाँ बोनसदर कायम गरेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीकाअनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा प्राधिकरणबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा यही बोनस दर कायम हुने छ ।

बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।
बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनसदर प्राप्त गर्छन् ।


क्लिकमान्डु