यती एयरलाइन्सको बीमा हिमालयन एभरेष्टमा, मृतकका परिवारले कति पाउँछन् ?



काठमाडौं । काठमाडौंबाट बिहान पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना सेती नदी खोंचमा दुर्घटना भयो।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना यात्रु सवार थिए । जसमा नेपाली यात्रुको संख्या ५३ जना, विदेशी यात्रुको संख्या १० जना विदेश र भारतीय यात्रुको संख्या ५ जना रहेको थियो ।

विमान चालक दलसहित विमानमा सवार सबै यात्रुको मृत्यू भएको छ ।

यती एयरलाइन्सले विमानमा सवार यात्रुहरुको बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स (साविककको हिमालयन जनरल)मा गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने वेलायती पुनर्बीमा कम्पनी एमएआरएस पुनर्बीमा कम्पनीसँग गराएको थियो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले विमान दुर्घटना भएपछि कम्पनीले दुर्घटना भएको विमानको क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर बोलाएको जानकारी दिए ।

‘हिमालन एभरेष्ट इन्स्योरेन्समा बीमा गरिएको छ,’ पौडेलले क्लिमाण्डूसँग भने, ‘विमानको क्षति मूल्याङ्कन गर्न कम्पनीले सिङ्गापुरबाट सर्भेयर समेत मगाइसकेको छ ।’

उनकाअनुसार कम्पनीले प्राधिकरणको समन्वयमा सर्भेयर बोलाएको हो ।

मृत्यु भएका बीमितले कति पाउँछन् रकम ?

नेपालमा व्यवसायिक हवाई उडान शुरु भएदेखि नै आन्तरिक उडानमा सवार यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर कायम गरिएको थियो । र, आजसम्म पनि उक्त बीमाशुल्क नै कायम रहेको पौडेल बताउँछन् । उनकाअनुसार हवाई जहाजमा सवार प्रत्येक यात्रुको बीमा २० हजार अमेरिकी डलरको हुन्छ । भने चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ ।

अन्य बीमाभन्दा हवाई बीमामा अत्यधिक जोखिम हुन्छ । नेपाली बीमा कम्पनीहरुले थोरैमात्र जोखिम मात्रै राखेर बाँकी जोखिम पुनर्बीमामार्फत् बाहिर पठाउने उनको भनाइ छ । धेरै जोखिम हुने भएकाले बीमा कम्पनीहरुले हवाई बीमाको पुनर्बीमा प्रख्यात पुनर्बीमा कम्पनीहरुमा गर्ने उनी बताउँछन् ।

हवाई जहाज सञ्चालन गरिरहँदा विभिन्न प्रकारको क्षति र नोक्नसानी हुने खतरा रहन्छ । हवाईजहाज दुर्घटना वा एकआपसमा ठोक्किएको अवश्थामा हवाई जहाजका यात्री, मालसामान र चालक दलका सदस्यलाई पनि क्षति पुग्न सक्छ । हवाई दुर्घटनाले अरुको सम्पत्ति मानव जीवनमा क्षति पुग्दा त्यसको क्षतिपूर्ति भर्नुपर्ने दायित्व हुन्छ ।

हवाई जहाज वा उक्त हवाई जहाजका कारण धन, जन तथा सामान आदिमा हुने नोक्सानीको क्षतिपूर्तिका लागि गरिने बीमालाई हवाई बीमा भनिन्छ ।


क्लिकमान्डु