यती एयरलाइन्सको पाँचौं तर इतिहासकै ठूलो दुर्घटना
काठमाडौं । काठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना सेती नदी खोचमा खसेको छ । ७२ जना सवार विमानको अधिकांश भाग जलेको बताइएको छ ।
जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनाको प्रकृति हेर्दा ६९१ कल साइन रहेको उक्त विमानमा सवार सबैको निधन भएको हुनसक्ने दुर्घटनास्थलमा पुगेका स्थानीयहरु बताउँछन् । यो समाचार तयार पार्दा (दिउँसोको साढे १२ बजेसम्म) ३२ जनाको शव भेटिएको छ ।
उक्त जहाज विमानस्थलबाट ५ माइल नजिकै सेती नदि खोचमा खसेको नागरिक उड्डयन प्राधिकरणका प्रक्ता ज्ञानेन्द्र भुलले बताए ।
आइतबार भएको दुर्घटना यती एयरलाइन्सको चौथो दुर्घटना हो । तर, यती एयरलाइन्सको २५ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो दुर्घटना भएको छ ।
किनभने, अहिलेसम्म भएका यती एयरका जहाज दुर्घटनामा बढीमा १९ जनाको मात्रै मृत्यू भएको थियो ।
पहिलोपटक सन् २००१ तिलिङ्टारमा यतिको डि एचसि ६/३०० जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भएको थिएन ।
सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना हुँदा ३ जनाको मृत्यू भएको थियो । र, सन् २००६ मा जुम्लामा भएको यतीको विमान दुर्घटनामा ९ जनाको मृत्यू भएको थियो ।
सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १९ जनाको मृत्यू भएको थियो । सन् २००६ मै यतिको डि एचसी ६/३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पनि मानवीय क्षति भएको थिएन ।
आइतबार भएको दुर्घटनामा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । नेपालको इतिहासमा यो दुर्घटना १०८औं हो । यसअघि भएका जहाज दुर्घटनामा ८३६ जनाको मृत्यू भएको थियो । आइतबारको घटनापछि मृत्यू हुनेको संख्या ९०० नाघ्ने भएको छ ।
वर्षेनि जहाज दुर्घटना हुँदा नेपाली आकाश असुरक्षित बन्दै गएको देखाउँछ ।