चन्द्रगिरी हिल्सले ३ महिनामा गर्यो साढे १८ करोड आम्दानी, नाफा कति ?



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ६७ करोड ०१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सन् २०२१ मा २२ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ४१ करोड ३० लाख रुपैयाँ र सन् २०१९ मा ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

काठमाडौं जिल्लाको थानकोटमा केबलकारसहित एक सय कोठाको बुटिक रिसोर्ट सञ्चालन गरिरहेको कम्पनीले तीन महिनाको अवधिमा साढे १८ करोड रुपैयाँ आम्दानी गर्दा १ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा ३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।

सन् २०१६ देखि सञ्चालनमा आएको कम्पनीले सन् २०२१ को सेप्टेम्बरबाट पूर्ण क्षमतामा रिसोर्ट सञ्चालनमा ल्याएको थियो । हेमराज ढकाल, चन्द्रप्रसाद ढकालसहित १५ जना व्यक्तिको लगानीमा रहेका कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ३ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीमा सबैभन्दा बढी हेमराज ढकाल र चन्द्रप्रसाद ढकालको १९।१९ प्रतिशत स्वामित्व छन् ।

कम्पनीअनुसार कोभिडपछि आम्दानीमा सुधार हुँदै गएको जनाएको छ । जसमा कोभिड–१९ को अगाडिको तुलनामा सन् २०२२ अर्थात् कोभिडपछि केबलकारमा ९० प्रतिशत ग्राहक बढेको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ५७ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीले केबलकारमात्रै नभएर पर्यटकहरुलाई आकर्षण गर्नका लागि बुटिक रिसोर्ट, जिपलाइन र अन्यको पनि व्यवस्था गरेको छ ।


क्लिकमान्डु