जनताका समस्याहरु केलाएर बस्ने छुट छैन, समाधानको सुत्र खोज्न आवश्यक: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई आर्थिक समृद्धिको महाभियानमा लान आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका रहेका प्रधानमन्त्री प्रचण्डले गरे के हुँदैन भन्ने आशा र उत्साह जगाउन आवश्यक रहेको बताए ।

नयाँ संसद्ले आर्थिक क्रान्तिको साझा संकल्प गर्दै अघि बढ्न जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ । ‘गरे के हुँदैन भन्ने आशा र उत्साह जगाउनु छ । आर्थिक समृद्धिको महाअभियानमा लाग्नु छ’ उनले भने, ‘आर्थिक क्रान्तिको साझा संकल्प गर्दै अघि बढ्नु जरुरी छ । ‘

संसदमा यसपटक नयाँ दल र अनुहार पनि भएको भन्दै प्रचण्डले उनीहरुलाई संसदमा स्वागत गरे । नयाँ सदस्यहरुमा केही गरि छाड्ने हुँटहुटी रहेको भन्दै उनले नयाँ संसद जनताको पक्षमा लाग्नेमा विश्वस्त रहेको बताए । उनले जनताको जीवनमा सार्थक परिवर्तन दिन सक्छौं सक्दैनौ भन्ने महत्वपूर्ण रहेको बताए ।

‘परम्परागत राजनीतिले जनतामाझ जान सक्ने अवस्थामा छैन । हामी सबै जनताको निगरानीमा छौं । जनतासँग गरेको सुसासन र समृद्धिका प्रतिवद्धताहरु पूरा गर्ने अठोट गर्न जरुरी छ’ उनले भने ।

जनताका अपेक्षा गुनासा चासो र चिन्तालाई अत्यन्त नजिकबाट सम्बोधन गर्न जरुरी रहेको भन्दै उनले समस्याहरु केलाएर बस्ने छुट नभएको र समाधानको सुत्र खोजेर अघि बढ्न जरुरी रहेको बताए ।

जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै उनले यो संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन् ।

‘हामी भर्खरै जननिर्वाचित भएका छौं । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्दछ‚ निःसर्त छैन । हामी सुशासन दिन सक्छौं वा सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं वा सक्दैनौँ ?’ उनले भने, ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् ।’


क्लिकमान्डु