चोरी–तस्करी रोक्क्न सीमामा सुरक्षा निकायको कडा निगरानी



विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध निर्यात र निकासीमा कडाइ गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला समय कडाइ गरेको हो ।

मोरङ प्रहरीले पछिल्लो एक सातामा ७ लाख ३३ हजार १८० रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली, चोरी तस्करी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक सामान, जिउँदो माछा, बोइलर कुखरालगायतका सामान नियन्त्रणमा लिइएको हो ।

यसरी नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा दाखिला गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । माछा र बोइलर कुखुरा प्रहरी कर्मचारी तथा पशुक्वारान्टाईनका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

सीमा क्षेत्रमा भइरहेको तस्करी र अवैध कारोबारका कारण अन्तर–सरकारी निकायबीच द्वन्द्व कामय भएकै अवस्थामा त्यसको नियन्त्रणमा सशस्त्र प्रहरी, नेपाल प्रहरी दुईवटै सुरक्षा निकाय र भन्सार प्रशासनको संयुक्त गस्ती टोलीमा समन्वयले सक्रियता बढेको हो ।

केही दिनअघि संयुक्त गस्ती टोलीले विराटनगर–६ स्थित एक होलसेल गोदाममा छापा हानेर भन्सार छलीका कपडा र खाद्यान्न बरामद गरेको थियो ।

एक महिनाअघि भन्सारका कर्मचारीमाथि प्रहरी चौकी रानीअगाडि तस्करी समूहबाट ढुंगामुढा गरी आक्रमण भएको थियो । सो घटनापछि त्यो विषय अर्थमन्त्रालय र भन्सार विभागको केन्द्रसम्म पुगेको थियो ।

त्यो विषय केन्द्रमा पुर्‍याउने काम विराटनगर भन्सार प्रमुख तारानाथ सापकोटाले गरेका थिए । त्यसपछि ती दुवै निकाय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विभागबाट अनुगमन टोली भन्सार कार्यालय आएको थियो ।

त्यस टोलीले चार घण्टा बैठक बसेर राजश्व संकलन वृद्धि गर्न भनेर कडा निर्देशन जारी गरेको थियो । त्यो निर्देशनपछि सुरक्षा निकाय र भन्सार प्रशासन सक्रिय भएको थियो ।

सोही क्रममा सीमा प्रहरी चौकी रानीका इन्चार्ज पुकारदेव यादवको टोलीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर नयाँ टोली राखिएको छ ।

विराटनगर भन्सार कार्यालयले सुरक्षा माग गर्दै भन्सार विभाग तथा अर्थमन्त्रालयमा पत्रचार गरेअनुसार नै अहिले काम भइरहेक भन्सार प्रशासनले जनाएको छ ।

सीमा क्षेत्रमा पहिले कार्यारत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सादा पोशाकका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । सो क्रममा सीमा क्षेत्रमा चोरी पैठारी हेरिरहेका सशस्त्रका भीम अधिकारी, नेपाल प्रहरीका भुवन श्रेष्ठलाई सीमा क्षेत्रको निगरानीबाट विदा दिएर त्यहाँ अर्कै सुरक्षा अधिकारीलाई खटाइएको छ ।


क्लिकमान्डु