सरकारलाई विश्वासको मत दिन माधव नेपालसँग प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए ।

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्ड आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए । वामपन्थी पार्टीहरुबीचको एकताबारे भने छलफल नभएको उनले बताए ।

‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ । हामी यसबारे पार्टीमा छलफल गर्छौं । र, टुंगो लगाउँछौं । सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन । खाली विश्वासको मतको बारेमा कुरा भएको छ । बाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन’अध्यक्ष नेपालले भने ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफल समेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन् ।


क्लिकमान्डु