सत्ता गठबन्धन अवसरवादी, लामो समय टिक्दैन: कांग्रेस



नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको दाबी गरेका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सीमित रहेकोले लामो समय नटिक्ने दाबी गरेका हुन् ।

उनले वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र संघीयता बिरोधीदेखि संघीयता आवश्यक छ भन्नेसम्म सहभागी भएकाले गठबन्धनको आयु लामो समय नभएको दाबी गरे ।

कांग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै तत्कालीन गठबन्धन तोडेको उनले आरोप लगाए ।

अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन उनले आग्रह गरे ।

महतले प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेस सन्तुष्ट नरहेको बताए । कांग्रेसलाई सरकारको नेतृत्वको विकल्पमा माओवादी अध्यक्षलाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताए ।

महतले वर्तमान गठबन्धनमा पदीय चाहना बाहेक विचार, दृष्टिकोणमा एकता नरहेको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार काम गर्ने भन्दा देखाउने कुरामा मात्रै बढी अग्रसर रहेको आरोप लगाए ।

प्रवक्ता महतले आगामी दिनमा कांग्रेस सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने प्रतिवद्धता जनाए । कांग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म सशक्त प्रतिपक्षको रुपमा विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने उनको भनाइ थियो ।

आगामी दिनमा पार्टी संगठन बिस्तार, पार्टीमा एकता, व्यक्ति केन्द्रित नभइ विषय, लक्ष्य केन्द्रित भएर काम गर्नेमा लाग्ने उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताए ।


क्लिकमान्डु