उद्योगी व्यवसायीहरुलाई सरकारले रातो कार्पेटमा स्वागत गर्छः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए ।

‘राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा अवस्था अध्ययन भइरहेको छ । अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहाँ छैन । तर हाम्रो तर्फबाट तपाईहरुलाई रेर्ड कार्पेट छ । उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौं’ लामिछानेले भने ।

उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धता उनले जनाए ।

गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

लामिछानेले उद्योगी व्यवसायीहरुलाई आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गरे । उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने उनको भनाइ थियो ।

‘सरकारले एउटा स्पेशल युनिट खडा हुन्छ । मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि,व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय,कार्यालय हाकिम र राजनीतिज्ञहरुकामा गएर समय खेर फाल्नु पर्दैन’ गृहमन्त्री लामिछानेले भने ।

सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुलाई सल्लाह सुझाव दिन उनले आग्रह गरे ।

उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने उनको भनाइ थियो ।

उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने गृहमन्त्रीको भनाइ थियो । उनले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताए ।

कानूनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै उनले फोहोर सफा गर्न समय लाग्ने बताए । फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने गृहमन्त्रीको भनाइ थियो।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताए । कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने उनले बताए ।

चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।


क्लिकमान्डु