काठमाडौंमा कहाँ कहाँ पाइन्छ डेढ करोडमै घर ?



काठमाडौं । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा घरजग्गा क्षेत्रमा निकै प्रभाव परेको छ । अहिले बैंकले सहजै कर्जा प्रदान गर्न सकेको छैनन भने अर्कोतर्फ ऋणीले ब्याजदर वृद्धिका कारण ऋण तिर्न सकेका छैनन् ।

अर्थतन्त्रमा तरलता अभाव र ब्याजदर वृद्धिका कारण अधिकांश क्षेत्रमा प्रभाव परेको देखिन्छ । अहिले लगानीयोग्य पुँजी नहुँदा नयाँ लगानी थप हुन सकेको छैन । साथै, सञ्चालनमा रहेको उद्योग पनि पूर्ण सञ्चालन हुन सकेको छैन । उत्पादन र आम्दानीको क्षेत्र खु्म्चिँदा त्यसको प्रत्यक्ष असर घर खरिदबिक्रीमा परेको छ ।

पछिल्ला दिनहरुमा ऋणीहरुले समयमै ऋण तिर्न नसक्दा दिनहुँ बैंक तथा वित्तीय संस्थाहरुले लिलामीका सूचनाहरु पत्रपत्रिकामा प्रकाशित गरिरहेका छन् । त्यस्तै, व्यवसायीहरुले पनि समयमै ऋण तिर्न नसक्दा घरजग्गाको लिलामीले पत्रपत्रिका भरिन थालेको बताउँदै आएका छन् ।

अर्थतन्त्रमा तरलता अभाव र ब्याजदर वृद्धि भएसँगै अधिकांश व्यवसायीहरुले सस्तोमै पनि घरजग्गा बिक्री गर्न बाध्य भएका छन् । कोभिडकै समयमा उच्च बढेको घरजग्गा किनबेच अहिले आधाले घटेको छ । त्यस्तै, देशभरका मानिसहरुको आकर्षणको केन्द्र काठामाडौंमा डेढ करोडभन्दा कम मूल्यमा घर पाउनु भनेको सपना जस्तै भइसकेको छ ।

काठमाडौंको अधिकांश क्षेत्रमा ५ आना जग्गासमेत करोडभन्दा कम मूल्यमा पाइँदैन । तर, स्थानले केही फरक र टाढा रहेको केही क्षेत्रमा भने डेढ करोडसम्मको मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । अहिले समान्यतया २ करोडभन्दा कम मूल्यमा घर पाउनु सपना जस्तै भएकाले व्यवसायीहरुले अहिले घरजग्गा खरिद गर्नु उपयुक्त समय रहेको बताउँछन् ।

अहिले अधिकांश घरहरु घरको ऋण समयमै तिर्न नसक्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएकाले घर खरिद गर्ने तयारी रहेका मानिसहरुले सस्तो मूल्यमा घर पाउने अवसरका रहेको व्यवसायीहरुको भनाइ छ ।

कहाँ–कहाँ छन् डेढ करोडसम्मका घर

पछिल्लो सयम उपत्यकामा पनि डेढ करोडसम्मको सुविधासम्पन्न घर पाउन छाडिसकिएको छ । जग्गासमेत उक्त मूल्यमा नपाएको अवस्थामा काठमाडौंका विभिन्न क्षेत्रमा डेढ करोडभन्दा कम मूल्यका घर बिक्रीमा राखिएका छन् ।

घरधनीहरुले घरजग्गा बिक्री गर्ने एजेन्टमार्फ्त २ आनादेखि ५ आनासम्म बनेका घरहरु डेढ करोडभन्दा कम मूल्यमा बिक्रीका लागि राखेका हुन् ।

घरघडेरी एजेन्टले काठमाडौंको विभिन्न क्षेत्रमा रहेका दर्जभन्दा बढी घर डेढ करोडभन्दा कम मूल्यमा बिक्रीमा राखेका छन् । कम्पनीले बालाजु लोलाङ हाइट तरकारी बजारमा बनेको ११ सय स्क्यारफिटको घरको मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकेको छ ।

साढे दुई तल्लामा निर्माण भएको उक्त घर बैंकको कर्जाका कारण बिक्री गर्न राखिएको कम्पनीको भनाइ छ । घरमा ४ वटा कोठा, २ वटा बाथरुम र मोटरसाइकल पार्किङको व्यवस्था छ ।

त्यस्तै, काठमाडौंकै शंखरापुर इन्द्रेणी–९ मा ३ आनामा निर्माण भएको एक तले घर विक्रीका लागि राखिएको छ जसको मूल्य १ करोड १५ लाख रुपैयाँ राखिएको छ । दुई वटा कोठा र एउटा बाथरुम रहेको घरमा एउटा कार पार्किङ गर्न सक्ने व्यवस्था छ ।

धापासी हाइट टोखामा साढे २ आनामा साढे एक तल्ला घर १ करोड ३५ लाखमा बिक्रीमा रहेको छ । काठमाडौं थलीमा ४ आनामा बनेको एक तल्लाको घर, तार्केश्वर फुटुङ–६ मा रहेको साढे ३ आनामा बनेको घर डेढ करोड रुपैयाँ र तोर्केश्वर–४ शेषमती केएमसीमा ४ आनामा बनेको घर १ करोड २० लाख रुपैयाँमा बिक्रीका लागि राखिएको छ ।

अर्को एजेन्ट फ्याफुल्ला डटकमले काठमाडौंका विभिन्न क्षेत्रमा डेढ करोडसम्ममा घरहरु बिक्रीमा रहेको जनाएको छ । कम्पनीले फुटुङ थापागाउँमा ३ आना क्षेत्रफलमा डेढ तल्लामा बनेको घर, गोल्ढुङ्गामा २ आना २ पैसामा बनेको सोढे २ तल्लाको घर जरङ्खुको प्रभु बैंक नजिकै रहेको २ आना २ पैसा क्षेत्रफलमा २ तल्ला भएको घरको मूल्य १ करोड ५० लाख रुपैयाँ राखिएको फ्याफुल्लाले जनाएको छ ।

साथै, काठमाडौंकै थलीमा ३ आना १ पैसा (फिल्डमा ४ आना) क्षेत्रफलमा निर्माण भएको एक तल्ला घरको मूल्य १ करोड २० लाख रुपैयाँ राखिएको छ । यसबाहेक काठमाडौंकै अन्य विभिन्न स्थानमा डेढ करोडसम्मको घरहरु उपलब्ध रहेको एजेन्टहरुले बताएका छन् ।


क्लिकमान्डु