हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढ्यो



काठमाडौं । हुलास ब्रान्डको खाद्यान्न बेच्ने भुदियो खाद्य उद्योगको व्यापार १२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.६२ प्रतिशतले बढेको हो ।

कम्पनीको व्यापार हेर्दा कोभिडको समयमा निकै खस्किएको देखिन्छ । कम्पनीले सन् २०१९ मा ९८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा १४ प्रतिशतले व्यापार घटेर ८६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२० मा १४ प्रतिशतले घटेको व्यापार थप सन् २०२१ मा ५ प्रतिशतले कम भएको छ । सन् २०२१ मा कम्पनीले ८२ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

तर, सन् २०२२ मा कोभिडको तुलनामा व्यापार बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२२ मा ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीअनुसार सन् २०२० देखि २०२२ सम्ममा कम्पनीको नाफा ५ देखि ६ प्रतिशत सिमित रहेको छ ।

गोल्छा अर्गनाइजेनद्वारा सञ्चालित कम्पनीको अध्यक्ष लक्मान्य गोल्छा हुन् । कम्पनीले सन् २००१ देखि धान प्रशोधन गरी चामल, हुलास मैदा, सोजी, दाल, आँटा, पिठो, हुलास भुजा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले वार्षिक १९ हजार ०० मेट्रिक टन खाद्यान्न उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड रुपैयाँ अर्थात् बीप्लस र अल्पकालीन कर्जाका लागि एफोर अर्थात् ९२ करोड रुपैयाको रेटिङ गराएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा प्रशोधन गरी बिक्री गर्दै आएको छ । उत्पादन गरेको खाद्यान्न ‘हुलास’ ब्रान्डमा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीको देशभर आठ वटा शाखा छन् ।


क्लिकमान्डु