सहकारीमा देखिएका समस्या समाधान गर्न अभियान तातेन, अनुत्पादक क्षेत्रमा लगानी बढ्योः रजिष्ट्रार



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा देखिएको समस्या समाधान गर्न अभियान नतातेको बताएका छन् ।

सहभागी पत्रकार समाज (सीजेएन)को १२ औं बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । सहकारी संस्थाहरुले घर जग्गा र गाडीमा लगानी बढाएको र अनुत्पादक क्षेत्रमा गरेको लगानीका कारण अहिलेको अवस्था आएको बताए ।

‘अहिलेको समस्या आएपछि समस्या समाधान गर्न अभियान तातेन’ उनले भने, ‘अभियानले त्यो बेला समस्या मात्रै देखायो, अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ हजार भन्दा बढि फिर्ता नगर्नु भनेपछि समस्या झनै बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो ।’

अहिले पनि विभागमा वास्तविक तथ्याङक नरहेको र माघपछि भने करिब वास्तविक तथ्याङक आउने बताए । ‘पुस मसान्तसमा धेरै संस्थाको साधारण सभा सकिन्छ । सभा सकिएपछि माघमा हामी तथ्याङक तयार पार्छौ’ उनले भने, ‘करिब फागुनबाट हामी वास्तविक तथ्याङक दिने छौ । त्यसपछि बर्र्षौ पुरानो तथ्याङ्क बोकि रहनु पर्दैन ।’

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक बित्तिय संस्थाको भएको बताए । राज्यले लिएको निती र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सृजना भएको दाबी गरे ।

‘अहिले बैंकले सहजै ऋण दिएका छैनन्’ उनले भने ‘अनि सहकारीमा ऋण लिन आए, त्यसले जोखिम बढायो ।’ अब सबै संस्थालाई सुरक्षित अवतरण गराउन आवश्यक रहेको र अहिलेको समस्या समाधानका लागि नयाँ सरकारसँग कुरा गर्ने बताए । उप्रेतीले सहकारीमा सुशासन र सुदृढीकरण आवश्यक रहेको धारणा राखे ।


क्लिकमान्डु