अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरुका शतप्रतिशत होटल बुकिङ



काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् ।

अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरुले बताएका छन् ।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताए ।

उपाध्यक्ष साहले विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु नयाँ वर्ष लक्षित दुई दिनको लागि फुल अकुपेन्सी हुने बताए ।

विशेष गरी युवा वर्गले नयाँ वर्ष पर्यटकीय गन्तव्यहरुमा गएर मनाउने भएकाले होटलहरुको बुकिङ राम्रो हुने बताए ।

अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरुको अकुपेन्सी राम्रो रहेको उनको भनाइ छ ।

उपाध्यक्ष साहले नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको बताए । समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरुमा अकुपेन्सी हुन नसकेको उनको भनाइ छ ।

‘अहिले केही पाँच तारे होटलहरुको अकुपेन्सी फुल रहेको छ । तर समग्र देशभरका होटलहरुमा भने ३० प्रतिशत अकुपेन्सी रहेको छ । अब बिस्तारै बढ्छ भन्ने लागेको छ । होटलहरुका कोठाको माग कम छ तर होटलहरु प्रशस्त रहेको छ । तर होटलहरुको क्षमताको ३० प्रतिशत मात्रै उपयोग भइरहेको छ’ उनले भने ।

पर्यटक पूर्वधारहरु बिस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरुको अकुपेन्सी पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष साहले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताए ।

उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुले गर्दा होटल भरिभराउ भएको बताए । पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको छ ।

कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ’फ्लो’ ह्वात्तै बढेको उनको भनाइ छ ।

काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको छ ।

उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए । अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरुको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताए ।

‘पर्यटन क्षेत्रको तत्कालको समस्या भनेको बैंक र होटल व्यवसायीहरुको सम्बन्ध हो । बैंक पनि व्यवसायी क्षेत्र नै हो बुझ्छौं । तर व्यवसायीहरुले लिएको कर्जा तिर्दैनौं भनेको होइन । समय थप दिनुपर्छ भनेको छौं । बैंकको कर्जा लिएपछि तिर्नुपर्ने व्यवसायीहरुको जिम्मेवारी हो तिर्छौं । तर तत्काल तिर भनेर सक्दैनौं । दुई वर्षको समय थप चाहिन्छ भनेर अर्थमन्त्रीसँग माग गरेका छौं’ उनले भने ।

नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने उनको भनाइ छ ।


क्लिकमान्डु